काठमाडाैं । आइसिसी विश्वकप लिग-२ मा नेपालले ब्याक टु ब्याक बलिया टिम पाखा लगाउँदै जित निकालेकाे छ । नेपालले आज शीर्ष स्थानमा रहेको स्कटल्याण्डमाथि सानदार जित हासिल गरेको हाे। त्रिवि मैदान कीर्तिपुरमा सोमबार नेपालले स्कटल्याण्डमाथि ६ विकेटको सानदार जित निकाल्दा बलिङ र ब्याटिङ दुबै तर्फ उत्कृष्ट प्रदर्शन गरेकाे थियाे । ३९‍‍.१ ओभरमा प्याकअप गरेर १९५ रनको लक्ष्य पाएकाे नेपालले ३८.१ ओभरमा पूरा गरेको हो। अन्तिम बलमा नेपाललाई २ रन आवश्यक रहँदा स्कटल्याण्डका माइकल लिस्कलाई कप्तान रोहितले छक्का प्रहार गरेका थिए। नेपालका लागि कप्तान रोहितकुमार पौडेल र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेले । रोहितले अविजित ७४ रन बनाउनुभयो । उहाँले ९८ बलमा पाँच चौका र दुई छक्का हाने । रोहितको यो खेल जीवनको १२औँ अर्धशतक हो । यस्तै इशान पाण्डेले ६१ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५५ रन बनाए । ओपनर आशिफ शेखले २९ र कुशल भुर्तेलले २८ रन बनाए । इशान पाण्डेले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाएका छन्। स्कटल्याण्डविरूद्धको खेलमा इशानले अर्धशतक बनाएका हुन्। उनी ६१ बलमा ५५ रन बनाउँदै आउट हुन पुगे। त्यस क्रममा पाण्डेले ५ चौका र २ छक्का प्रहार गरेका थिए। इशानले त्रिवि मैदानमा जारी लिग-२ अन्तर्गतको सिरिजमा अमेरिका विरूद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका हुन्। त्यसअघि नेपालका लागि ललित राजवंशीले चार विकेट लिए। ८ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए। लेग स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए। उनले १० ओभर बलिङमा ४७ रन खर्चिए। सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक/एक विकेट लिए। स्कटल्याण्डका लागि ब्रान्डन मिकमलेनले ४४ बलमा ६ छक्का र ६ चौका प्रहार गरी ७३ रन बनाए। उनकाे विकेट लिएर सन्दीपले खेल नेपालकाे पक्षमा बनाएका थिए । माइकल इङ्लिसले ७२ बलमा ५१ रन जोडे। ओपनर जर्ज मुन्सीले २१ र मार्क वाटले २० रन बनाए। स्कटल्याण्डविरूद्ध जारी सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको थियो। त्यतिबेला डिएलएस पद्दतिबाट नेपाल २ रनले पराजित भएको थियो। अमेरिका विरूद्धको खेलमा नेपालले १९६ रनको लक्ष्य पूरा गरेको थियो। योसँगै नेपालले बाँकी रहेका १० वटै खेल जित्नुपर्ने दबाब छ।