काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। खेल विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। स्कटल्यान्डसँ खेल्दा नेपालले सो टिमविरुद्धको अपराजित यात्रालाई कायम राख्ने ध्याउन्नका साथ मैदानमा उत्रित्रने छ। विश्वकप क्रिकेट लिग–२ अन्तर्गत २०२३ मा स्कटल्यान्डले नेपालमा दुवै खेल हारेको थियो। भारतमा भएको विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा पनि नेपालले स्कटल्यान्डलाई हराएको थियो तर स्कटल्यान्ड एसोसिएट राष्ट्रमध्ये शीर्षस्थ टिम हो। स्कटल्यान्ड विश्वकप क्रिकेट लिग–२ उपाधि रक्षा अभियानमा रहेको छ। नेपालको अर्को प्रतिद्वन्द्वी अमेरिका रहेको छ। अमेरिकाका क्रिकेटरसँग एनपीएल खेलेको अनुभव छ। मिलिन्द कुमार, साइतेजा मुक्कामल्ला र कप्तान मोनाङ्क पटेलको उपस्थितिले बलियो ब्याटिङ भएको अमेरिकाको बलिङ पनि अनुभवी सौरभ नेत्रवाल्करका कारण सुदृढ छ। पछिल्ला पाँच खेल हेर्ने हो भने अमेरिकासँग नेपालको प्रदर्शन कमजोर छ। पछिल्ला चार ओडीआईमा नेपाललाई हराउने अमेरिका घरेलु टिमका लागि कठिन टिम हुन सक्छ। नेपालले मे १६ र २२ तारिखमा अमेरिकासँग खेल्ने छ। आईसीसी विश्वकप क्रिकेट लिग–२, २०२४–२७का खेलमा नेपाल २४ खेलमा आठ जित, १४ हार र दुई अनिर्णित खेलसहित १८ अङ्क बनाएर आठ राष्ट्र सहभागी प्रतियोगितामा पुछारबाट दोस्रो स्थानमै छ। यसपालि पनि अर्को वर्ष विश्वकपको ग्लोबल क्वालिफायरमा स्वतः खेल्न र थप चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गर्न नेपालले बाँकीका १२ मध्ये धेरैभन्दा धेरै खेल जित्नुपर्ने बाध्यता छ। विश्वकप ग्लोबल छनोट दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्दै छन्। नेपालले यसै महिना सकिएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गतकै ओमान र संयुक्त अरब इमिरेट्स यूएईसहभागी त्रिदेशीय शृङ्खला अन्तर्गत चारमध्ये तीन खेल जितेर विश्वकप ग्लोबल छनोटमा पुग्ने अभियानमा आशा भने जगाइसकेको छ। सोही कठिन लक्ष्य पूरा गर्न नेपालले अब घरेलु मैदानमै सुरु हुने अर्को विश्वकप क्रिकेट लिग–२ त्रिदेशीय शृङ्खलामा चारै खेल जित्ने उद्देश्य राखेको छ। नेपालका लागि यो शृङ्खला सहज छैन। नेपालको प्रतिद्वन्द्वी अमेरिका र स्कटल्यान्ड अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहेका टिम हुन्। अमेरिका २४ खेलमा १६ जित र ६ हारसहित ३६ अङ्क बनाएर अग्रस्थानमा रहेको छ। स्कटल्यान्ड २८ खेलमा १४ जित, आठ हार र छ अनिर्णित खेलसहित ३४ अङ्कमा रहेको छ। नेपाल ए सँग भ्रमणकारी दुवै टिम अमेरिका र स्कटल्यान्डले अभ्यास खेलमा दुवै खेल हारेपछि नेपालको सिनियर टिमको मनोबल उच्च बनेको । यो सिरिजका लागि बसिर अहमदको स्थानमा ईशान पाण्डेलाई टिममा समावेश गरिएको छ। यस्तै ओपनरका रुपमा कुशल भुर्तेल पनि टिममा फर्किएका छन्। पछिल्लो सिरिजमा विश्वास गरिएका अर्जुन कुमाल र विनोद भण्डारीले अर्को अवसर पाएका छन्उ। नेपाललाई अनुकूल नतिजा दिलाउने जिम्मेवारी प्रमुख रूपमा दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेमा रहने छ। यी दुवै स्टार अहिले शानदार लयमा रहेका छन्।