नबिल बैंकको नाफामा उल्लेख्य सुधार: ९ महिनामा ६ अर्ब ७६ करोड आर्जन, लाभांश क्षमता २१% माथि

निजी क्षेत्रको ठूलो वाणिज्य बैंक, नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा आकर्षक वित्तीय प्रगति हासिल गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा बैंकको खुद नाफा गत वर्षको तुलनामा ३३.९१ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा अवधिमा बैंकले ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ मात्र सीमित थियो। खुद ब्याज आम्दानी बढेर १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ पुग्नु र सञ्चालन मुनाफा ९ अर्ब ६१ करोड रुपैयाँ कायम हुनुले बैंकको नाफा बढ्नमा मुख्य भूमिका खेलेको देखिन्छ। यसैगरी, बैंकले २ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ खुद फि तथा कमिसन आम्दानी गरेको छ।
व्यवसाय विस्तारका क्रममा बैंकले चैत मसान्तसम्म ५ खर्ब ७८ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ४७ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकले आफ्नो सम्पत्तिको गुणस्तरमा पनि सुधार ल्याएको छ, जसका कारण गत वर्ष ४.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.३७ प्रतिशतमा झरेको छ।
बैंकको वित्तीय वृद्धि सँगै प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार आएको छ। गत वर्ष २५.०५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी अहिले ३३.०२ रुपैयाँ पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात १६.०५ गुणा र प्रतिसेयर नेटवर्थ २४३.३० रुपैयाँ रहेको छ। जगेडा कोष ३४ अर्ब ४० करोड रुपैयाँ पुगेको यस बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। यस विवरणका आधारमा बैंकको लाभांश क्षमता २१.१६ प्रतिशत कायम भएको छ।

