कमजोर इटालीविरुद्ध नेपालको लज्जास्पद हार

काठमाडौं । टि २० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालको जल्लास्पद हार भएको छ । तुलनात्मक रुपमा कमजोर मानिएको इटालीविरुद्ध नेपालका ब्याटर र बलर दुवै फ्ल्प सावित भएका छन् । पहिलो खेलमा बेलायतलाई झण्डै हराएर सनसनी मच्चाएको नेपाल आज भने १० विकेटको हारसहित निराश बनेको छ । नेपालले टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको थियो । नेपालले दिएको १२४ रनको लक्ष इटालीले १२.४ ओभर खेल्दा विना विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका कुनै पनि बलरले इटालीका दुई ओपनरको विकेट लिन सकेनन् । इटालीका जस्टीन मोस्का र एन्थोनी मोस्काले क्रमस ६० र ६२ रन हानेर जित हात पारे । त्यसअघि इटालीको बलरका समू नेपाली ब्याटर कमजोर देखिए । आरिफ शेखले २७, रोहितले २३, आसिफले २० करण केसीले १८ र दीपेन्द्रसिंह ऐरीले १७ रन मात्रै बनाए । ओपनर कुशल भुर्तेल १० बलमा ५ रन बनाएर आउट भए भने लोकेश बम र गुल्शन झाले जम्मा ३–३ रन हाने । सन्दीप लामिछानेले अन्तिम ५ रन हाने । नेपालले जम्मा १९.३ ओभर मात्रै खेल्न सक्यो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा विकेटको हिसाबमा नेपालकाे याे सबैभन्दा ठूलो हार हाे ।

