भगवती क्लबको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेसन

काठमाडौँको महाराजगन्जस्थित एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले ‘ए’ डिभिजन टोली श्री भगवती क्लबलाई प्रायोजन गरेको छ।
बिहीबार मुख्य प्रयोजनकसम्बन्धी सम्झौतापत्रमा एक्सपर्ट एजुकेसनका निर्देशक जयराम अर्याल र भगवतीका अध्यक्ष गणेशलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। यो सम्झौता एक वर्षको रहेको छ।
सम्झौताअनुसार श्री भगवतीले राष्ट्रिय लिगलगायत सबै प्रतियोगितामा एक्सपर्टको लोगो आफ्नो जर्सीमा प्रयोग गर्नेछ। सम्झौतापछि क्लबको नाम एक्सपर्ट एजुकेसन टोखा नगरपालिका श्री भगवती रहनेछ।
राष्ट्रिय लिगमा श्री भगवतीले एक्सपर्टको लोगो यसअघिबाट नै प्रयोग गर्दै आएको छ। दुई खेलमा टोलीले १ अंक जोडेको छ। पहिलो खेलमा चर्च ब्वाइजसँग बराबरी खेलेको श्री भगवती दोस्रो खेलमा जावलाखेल युथ क्लबसँग पराजित भएको थियो। यो क्लब यसै वर्ष ‘ए’ डिभिजन लिगमा बढुवा भएको हो।
एक्सपर्ट एजुकेसनका निर्देशक अर्यालले श्री भगवतीसँग विगतबाट सहकार्य गर्दै आएकोमा अहिले मुख्य प्रायोजकका रुपमा अझै फराकिलो भएर आबद्ध हुन पाएकोमा खुशी व्यक्त गरे। क्लबका अध्यक्ष श्रेष्ठले प्रायोजनका लागि एक्सपर्टलाई धन्यवाद दिए।
त्यस्तै, क्लबका पूर्व अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य मनिष जोशीले यो सम्झौताले खेलकुद र शिक्षाको सहकार्य भएको बताए।

