काठमाडौं । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई निर्धारित मितिमै महाधिवेशन हुने स्पष्ट पारेका छन्। महामन्त्री गगनकुमार थापाले अतिरिक्त प्रस्ताव दर्ज गराएपछि ती पदाधिकारीहरूले सभापति देउवालाई भेटेका हुन्। भेटमा सभापति देउवाले निर्धारित मितिमै महाधिवेशन हुने र कसैले भन्दैमा विशेष महाधिवेशन नहुने स्पष्ट पारे । ‘कसले के भन्दैछ वा कसले के भन्छ भन्ने कुरा अब रहेन। महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको छ। सोही मितिमा महाधिवेशन हुन्छ। तपाईंहरूमध्ये को सभापतिमा लड्नुहुन्छ, एक जनाको नाम टुंगो लगाउनुस्,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने। उनले संस्थापन पक्षका सात भाइलाई सभापतिको उम्मेदवारीका लागि एउटा नाम प्रस्ताव गर्न आग्रह गरेका हुन्। छलफलमा पदाधिकारीहरू महामन्त्री थापामाथि आक्रोशित भएको स्रोतको भनाइ छ। पदाधिकारीजस्तो व्यक्तिले महाधिवेशनको पक्षमा वकालत गर्नुपर्नेमा अझै विशेष महाधिवेशनको रटान लगाएको भन्दै उनीहरूले सभापति देउवासमक्ष गुनासो पोखेका हुन् । सोमबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ सम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको थियो। बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशन हुन नसके स्वतः विशेष महाधिवेशन हुने रायसहितको प्रस्ताव दर्ता गराए ।