मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ। दुई संस्था प्राप्ति गर्नेसम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा सोमबार हस्ताक्षर भएको छ।

सम्झौता पत्रमा तीनवटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसाय विस्तार र ग्राहकलाई प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्राप्ति प्रक्रिया अघि बढाइएको हो।

प्रारम्भिक सम्झौता अनुसार प्रस्तावित प्राप्तिसम्बन्धी आवश्यक विस्तृत अध्ययन र मूल्याङ्कन गरिनेछ। यसका साथै संस्थाको सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण र शेयर आदानप्रदान सम्बन्धी व्यवस्था अघि बढाइनेछ।

प्रस्तावित प्राप्ति नेपाल राष्ट्र बैंक तथा प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति र नियामकीय प्रक्रिया पूरा भएपछि अन्तिम रूपमा कार्यान्वयन हुनेछ। तीनवटै संस्थाले प्रक्रियालाई पारदर्शी, व्यवस्थित र कानूनी व्यवस्था अनुरूप अघि बढाउने प्रतिबद्धता जनाएका छन्।