काठमान्डु गोर्खाजद्वारा मन्डेकाजीसहित ५ खेलाडी ‘गुडविल एम्बासडर’ नियुक्त

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले नेपाली खेलकुदका शीर्षस्त ५ खेलाडीलाई आफ्नो ‘गुडविल एम्बासडर’ मा नियुक्त गरेको छ।
गोर्खाजले मंगलबार एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणको एनपीएल क्रिकेटका लागि युवाहरूलाई प्रेरित गर्ने उद्देश्यले फरक खेलका खेलाडीलाई एम्बासडर बनाएको जनाएको छ।
गोर्खाजले करातेका मन्डेकाजी श्रेष्ठ, फुटबलका विकेश कुथु, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, भलिबलकी पुनम चन्द र तेक्वान्दोकी सीता तामाङलाई ‘गुडविल एम्बासडर’ मा नियुक्त गरेको हो।
गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले ‘गुडविल एम्बासडर’ हरूलाई स्वागत गरे।
प्रमुख कार्यकारी अधिकृत ठकुरीले खेलकुदमा युवालाई प्रेरित गर्न क्रिकेटबाहेक अन्य खेलहरू पनि आवश्यक रहेको हुनाले ‘गुडविल एम्बासडर’ मा फरक खेलका खेलाडीलाई आफ्नो टोलीमा आबद्ध गरिएको बताए। उनले काठमान्डु गोर्खाज उपत्यकाको टोली भएकाले त्यसै अनुसार खेलाडी चयन गरिएको जानकारी दिए।
एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म आयोजना हुँदै छ।
करण केसीको कप्तानीमा रहेको गोर्खाजमा भीम सार्की, शाहब आलम, आदिल आलम अन्सारी, रशिद खान, दीपेश कँडेल, सन्तोष यादव, आकाश त्रिपाठी, प्रतीक श्रेष्ठ, तुलबहादुर थापा, उत्तम थापामगर छन्।
मन्डेकाजीले सन् २०१९ मा नेपालमै आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक जितेका थिए। उनी अहिले नेपाली राष्ट्रिय कराते टोलीको काता प्रशिक्षक हुन्। विकेश सन् २०१२ यता नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक हुन्। हाल त्रिभुवन आर्मी फुटबल क्लबबाट खेलिरहेका विकेशले सरस्वती, जावलाखेल युथ र मध्यपुर युथ एसोसिएसनबाट खेलिसकेका छन्।
विकेशले नेपाल सुपर लिगको पहिलो संस्करणमा काठमाडौं रेजर्सबाट उपाधि जितेका थिए।
सन्तोषीले पनि १३ औं दक्षिण एसियाली खेलकुदको १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन्। उनी दक्षिण एसियाली खेलकुदमा एथलेटिक्सबाट स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी हुन्। सन्तोषीले २०२४ मा भएको पेरिस ओलम्पिकमा खेलेकी थिइन्।
भलिबलकी पुनम सन् २०१९ यता राष्ट्रिय भलिबल टोलीकी सदस्य हुन्। नेपाल पुलिस क्लबकी पुनम अहिले एभरेस्ट महिला भलिबल लिगका लागि पोखरा निन्जाजसँग आबद्ध छिन्। भलिबल लिग भदौ २० मा पोखरामै सुरु हुनेछ।
सीताले अघिल्लो महिना दक्षिण कोरियामा भएको एम्बेसी ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्। उनले छैटौं, सातौं र नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी थिइन्। सीताले आउट ल र दानभी फिल्ममा समेत अभिनय गरेकी छन्।

