८ महिनामा भित्रियो ७ हजार बढी इभी गाडी


काठमाडौं । चालु आवको ८ महिनामा ७ हजार ८० वटा इलेक्ट्रीक कार, जिप र भ्यान (इभी गाडी) नेपाल आयात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १०.०२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यस्तो आयात ६ हजार ४ सय ३५ वटा भएको थियो । फागुन महिना सम्ममा ५० किलोवाटका इभी गाडी २ हजार ५ सय ३१ वटा भित्रिएको छ । त्यस्तै, ८ महिनामा ५१ किलोवाटदेखि १०० किलोवाट सम्मका इभी ३ हजार ८ सय ७९ वटा नेपाल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार १०१ किलोवाटदेखि २०० किलोवाट सम्मका इभी ६ सय ५४ वटा नेपाल भित्रिएको छ भने २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका १४ वटा र ३०० किलोवाट भन्दा माथिका २ वटा इभी नेपाल भित्रिएको छ । यी इभी गाडीहरु खरिद गर्नका लागि नेपाली व्यवसायीहरुले फागुन महिनासम्म १६ अर्ब ६४ करोड ३२ लाख ८७ हजार रुपैयाँ खर्च गरेका छन् भने नेपाल सरकारले सो मार्फत १० अर्ब २२ करोड ११ लाख ६० हजार रुपैयाँ राजस्व उठाएको छ । कुन देशबाट कति भयो आयात ? नेपालमा इभी प्रयोगकर्ता बढेसँगै आयातमा पनि वृद्धि भएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल इभी गाडीको आयात सबैभन्दा बढी चीनबाट भइरहेको छ । चालु आवको फागुन महिनासम्ममा चीनबाट मात्रै ५ हजार २ सय ६९ वटा इभी नेपाल आयात भएको छ । यस्तै, ८ महिनामा भारतबाट १ हजार ७ सय ७५ वटा इभी नेपाल भित्रिएका छन् भने जर्मनीबाट २७ वटा, दक्षिण कोरिया (कोरिया रिपब्लिक) बाट ३ वटा, संयुक्त राज्य अमेरिका (युएस) बाट ५ वटा इभी नेपाल भित्रिएको तथ्यांकले देखाएको छ । कम खर्च र सजिलो फाइनान्सिङले विद्युतिय गाडीको प्रयोगमा वृद्धि भएको हो । आव २०८०/८१ को फागुन महिनासम्ममा नेपालमा ६ हजार ४ सय ३५ वटा इभी नेपाल भित्रिएको थियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समिक्षाबाट इभी गाडीमा २० प्रतिशतबाट डाउन पेमेन्ट ४० प्रतिशत पुर्याएको छ ।