वाणिज्य बैंकले ७ महिनामा कमाए ३६ अर्ब ६ करोड नाफा, यी ९ बैंकको नाफा बढ्यो, ११ वटाको घट्यो


नेपाल राष्ट्र बैंकका अनुसार यी बैंकहरूले ७ महिना अवधिमा कुल ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत वर्ष माघसम्म यस्तो नाफा ३५ अर्ब ४९ करोड रुपैयाँ थियो। २० मध्ये ९ वटा बैंकको नाफा बढेको छ भने ११ वटाको घटेको छ।
नाफा वृद्धिका हिसाबले नेपाल बैंक सबैभन्दा अगाडि छ, जसको नाफा १५६.३१ प्रतिशतले बढेर २ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ पुगेको छ। सबैभन्दा धेरै नाफा भने नबिल बैंकले कमाएको छ, जसले ४ अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेको छ। दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक छ, जसले ३ अर्ब ८९ करोड ५ लाख रुपैयाँ नाफा कमायो। यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड ९६ लाख, एभरेष्ट बैंकले २ अर्ब ५७ करोड ३८ लाख र एनएमबि बैंकले २ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ नाफा गरेका छन्।
प्राइम बैंकले २ अर्ब १८ करोड २३ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड ८५ लाख, प्रभु बैंकले १ अर्ब ८३ करोड ४६ लाख, लक्ष्मी सनराइज बैंकले १ अर्ब ५८ करोड ९६ लाख, हिमालयन बैंकले १ अर्ब ४७ करोड २४ लाख, सानिमा बैंकले १ अर्ब ३७ करोड १९ लाख, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड ८६ लाख र नेपाल एसबिआई बैंकले १ अर्ब ९ करोड १७ लाख रुपैयाँ।
यद्यपि, केही बैंकको नाफा करोडमै सीमित भएको छ। माछापुच्छ्रे बैंकले ९६ करोड ८१ लाख, सिटिजन्स बैंकले ९० करोड २६ लाख, सिद्धार्थ बैंकले ८५ करोड ५१ लाख, कृषि विकास बैंकले ७९ करोड ९९ लाख, कुमारी बैंकले ७३ करोड ८६ लाख र एनआईसी एशिया बैंकले ४६ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका छन्।