महिला फुटबलको फाइनल आजः तोडिएला उपाधिको खडेरी ?

काठमाडौं । नेपाली फुटबलले लामाे समयदेखि उपाधिकाे खडेरी बेहाेर्दै आजकाे छ । नेपाली महिला टिम चार देशीय महिला अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेसँगै एक पटक फेरि उपाधिकाे खडेरी टार्ने अवसर प्राप्त भएकाे छ । बुधबार आज नेपाली महिला राष्टि्रय टिम र म्यानमारबीच उपाधि भिडन्त हुँदैछ । लिग चरणकाे खेल २–२ गाेलकाे बराबरीमा टुंग्याएका यी दुवै टिम उपाधि हत्याउन चाहान्छन् । नेपाललाइ युवा टाेलीकाे जाेश, घरेलु मैदान र दर्शककाे साथ छ भने म्यानमार नेपाल भन्दा बलियाे टिम हाे । फिफा वरियतामा नेपाल निक्कै ४८ स्थान पछि छ । नेपालले सन् २०१० देखि ठूला प्रतियोगिताको फाइनल खेल्दै आएको छ। तर १२ पटक उपविजेतामा सीमित हुनुपरेको छ। त्यसैले १३औँ फाइनलमा उपाधि चुम्ने सपना बुनिरहेको छ। नेपालका प्रशिक्षक राजेन्द्र तामाङले आफ्नो टिम फाइनलका लागि तयार रहेको बताए। ‘लिग चरणका तीनवटै खेल राम्रो खेल्यौं। हामी फाइनलका लागि तयार छौं,’ उनले भने। त्यस्तै, कप्तान एन्जिला तुम्बापो सुब्बाले घरेलु मैदानमा उपाधि जित्नका लागि खेल्ने बताइन्। ‘हामी आजसम्म रजतमा नै सीमित छौं। यसपटक स्वर्णको लागि खेल्नेछौं।’ ‘लिग चरणमा सबै प्रतिस्पर्धी बलिया थिए। नेपालसँग खेलेर उसको बारेमा थाहा पाएका छौं। आशा छ, भोलि राम्रो खेल हुनेछ,’ म्यानमारका प्रशिक्षक तेत्सुको युकीले पत्रकार सम्मेलनमा भने। कप्तान वेन थेइङगी तुन पनि आफूहरूले फाइनलमा राम्रो खेल्ने बताइन्। ‘प्रतियोगितामा हामी उपाधिका लागि नै आएका हौं। यससँगै हामीले नयाँ खेलाडीको विकासका लागि पनि यो प्रतियोगितामा भाग लिएका हौं। जसमा सबै खेलाडीले राम्रो खेलिरहेका छन्,’ उनले भनिन्। लिग चरणमा भने म्यानमार विजेता बन्दै फाइनल खेल्न लागेको हो भने नेपाल उपविजेताको रूपमा फाइनल खेल्नेछ। नेपालले पहिलो खेलमा कीर्गिस्तानलाई १-०, लेवनानलाई १-० र म्यानमारसँग २-२ बराबरी खेलेको हो। म्यानमारले भने पहिलो खेलमा लेवनानलाई ३-१ र कीर्गिस्तानलाई ५-० ले हराएको हो। नेपालसँग २-२ बराबरी खेलेको हो। ‘एक वर्षभित्रमा हामीले ३ वटा फाइनल खेल्दैछौं। फेरि उपाधि जित्ने मौका आएको छ। भोलि हामी टिमको हिसाबले राम्रो गर्छैं। स्वर्णको भोक मेट्नको लागि पनि टिमको रूपमा खेलेर अनुशासनमा बसेर अन्तिमसम्म खेल्यौं भने नतिजा राम्रो निकाल्ने छौं,’ कप्तान एन्जिला तुम्बापो सुब्बाले बताइन्। नेपालले हालः धेरै कुरामा परिवर्तन गरेको छ। प्रशिक्षक राजेन्द्र तामाङका अनुसार अब टिममा नयाँ खेलाडी ल्याउने र नेपाली महिला फुटबललाई पुस्तान्तरण गराउने धेय रहेको छ। ‘महिला फुटबलमा मैले पुस्तान्तरण गर्ने क्रममा छु। तुरुन्तै गर्न नसकिएला। तर, युवा नै हो फुटबलमा दौडिने। उमेर पुगेका खेलाडीले अफ सिजनमा पनि मेहनत गर्नुपर्छ,’ उनले भने। उनले यसपटक चार नयाँ खेलाडीलाई सहभागी गराएको बताए। हालः टिममा विदेशी लिग खेलेर आएका २ स्ट्राइकरबीच पनि कम्बिनेसन मिलिसकेका कारण फाइनलमा नेपालले राम्रो गर्ने अपेक्षा प्रशिक्षक तामाङको छ। ‘को खेलाडी कस्ता भन्दा पनि टिममा कसले राम्रो खेल्छ भनेर खेलाउने हो। रेखा र सावित्रा पनि टिममा राम्रोसँग घुलमिल भइसकेका छन्,’ उनले भने। नेपाली पहिलो रोजाइकी गोलरक्षक एन्जिला पनि युरोपमा खेलेको अनुभवले टिमलाई मद्दत गरिरहेको बताउँछिन्। दुई खेलमा उनले क्लिन चिट राखेकी छन्। उनी भन्छिन्, ‘मैले नेपालबाट जे सिकेको थिएँ, त्योभन्दा केही फरक कुरा मैले युरोपमा सिकें। त्यसले टिमलाई केही न केही रूपमा फरक पारेको जस्तो लाग्छ।’ नेपालभन्दा फिफा वरियतामा ४८ स्थान माथि रहेको म्यानमार आफ्नो उत्कृष्ट रणनीतिसहित नेपाली भूमिमा घरेलु टिमसँग फाइनल खेल्न तयार छ। प्रशिक्षक तेत्सुको युकी भन्छन्, ‘नेपाली टिम निकै राम्रो छ। घरेलु टिमसँग नै हामी फाइनल खेल्न लागेका छौं। त्यसैले पनि हामी भोलिको खेलका लागि निकै उत्साहित छौं।’ म्यानमारका प्रशिक्षक युकीले सबै प्रतिस्पर्धी बलियो भएको बताउँदै फाइनलअघि नेपालसँग खेल्ने मौका पाउँदा टिमलाई जान्ने मौका पाएको बताए। ‘फाइनल खेल्नुअघि हामीले यो टिमसँग खेल्ने मौका पायौं। जसले गर्दा धेरै कुराहरू जान्ने मौका मिल्यो। हामी हाम्रो उत्कृष्ट रणनीतिसहित तयार हुनेछौं। हामी फाइनल खेलका लागि तयार छौं,’ उनले भने। नेपाली समर्थकको तारिफ गर्दै प्रशिक्षक युकी भन्छन्, ‘नेपालसँगको खेलमा धेरै समर्थकहरू मैदानमा आएका थिए। उनीहरूले टिमलाई राम्रो समर्थन गरेका थिएँ। म निकै सन्तुष्ट भएँ। जुन मात्रामा समर्थकहरू आएर समर्थन गरे, त्यो देख्दा खुसी लाग्यो। यो हाम्रो टिमका लागि पनि राम्रो कुरा हो,’ उनले भने। कप्तान वेन थेइङगी तुनले दुवै टिम फाइनल खेल्न लायक रहेको बताइन्। नेपाल र म्यानमारले हालसम्म नेपालले ४ खेल खेलेका छन्। जसमा नेपालले जित निकाल्न सकेको छैन। २ खेलमा म्यानमारले जित निकालेको छ भने २ खेल बराबरीमा सकिएको छ। नेपाल र म्यानमारले २०१९ मा हिरो गोल्डकपको फाइनलमा भेट गरेका थिए। यी दुई टिमले दोस्रो पटक फाइनल खेल्न लागेका हुन्।

