झाडु लिएर आएका केजरीवाल नै दिल्लीबाट किन बढारिए ?


काठमाडौं । नयाँ शक्तिको रुपमा उदाएका, पुराना कसिंगर बढार्ने भनेर झाडु लिएका आएका अरविन्द केजरीवाल नै भारतीय राजनीतिमा आफूले जितेको स्थानमा बढारिन पुगे । उनलाई पुरानै र विगत एक दशक भन्दा लामो समय सत्ता चलाएको नरेन्द्र मोदीको पार्टी भाजपाले झाडु लगाए । लगातार तीन पटक दिल्लीमा सरकार गठन गर्न सफल आम आदमी पार्टीले दिल्ली विधानसभामा ठुलो हार बेहोरेको छ। दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले समेत दिल्ली विधानसभा आफ्नो सिट बचाउन सकेनन्। बुधबार सम्पन्न चुनावमा शनिबार अबेरसम्म सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले कुल ७० मध्ये ४८ सिटमा विजय हासिल गरेको छ भने आम आदमी पार्टी भने २२ मा खुम्चिएको छ। केजरीवालले गत वर्ष सेप्टेम्बरमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। दिल्लीको मदिरासम्बन्धी अन्तःशुल्क नीतिमा भ्रष्टाचारको विषयमा ६ महिना जेल सजायबाट केजरीवालले उक्त मुद्दामा जमानत प्राप्त गरेको केही दिनमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। केजरीवाल जेलमा हुँदा विपक्षी दलहरूले उनको राजीनामा मागेका थिए र दिल्ली सरकार जेलबाट चलाइएको भन्दै उनको आलोचना गरेका थिए। तर केजरीवालले यी मागहरूलाई बेवास्ता गरेका थिए। गत सेप्टेम्बरमा राजीनामा दिने क्रममा उनले भनेका थिए, ‘म इमानदार छु वा छैन भन्ने निर्णय अब जनताले गर्नेछन्। मैले जनताको अदालत जाने निर्णय गरें ।’ तर विधानसभा अर्थात् जनताको अदालतले उनलाई दोषी ठह¥याएको छ। भ्रष्टाचारविरोधी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका केजरीवालले आफू इमानदार रहेको दाबी गर्दै आएका थिए। दिल्ली विधानसभाको नतिजाले केजरीवालको भ्रष्टाचारविरोधी छवि कमजोर भएको पन्जाब विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक आशुतोष कुमार ठान्छन्। ‘भारतमा राजनीतिज्ञहरूमाथि भ्रष्टाचारको आरोप लाग्नु कुनै नयाँ कुरा होइन। जनताले यसलाई त्यति गम्भीरतापूर्वक लिँदैनन्। यो निश्चित रूपमा सत्य हो। १२ वर्षअघि राजनीतिमा प्रवेश गरेका केजरीवालकाे छवि कमजाेर भएकाे छ, उनी भन्छिन्। अधिकांश विश्लेषकका अनुसार भाजपाले केजरीवालको भ्रष्टाचारविरोधी छविलाई रणनीतिक रूपमा कमजोर बनाएको छ। कुनै पनि विपक्षी दलले आफ्नो विपक्षीमाथि रणनीतिक रूपमा आक्रमण गर्नु स्वाभाविक भएको चर्चा गर्दै वरिष्ठ पत्रकार आदेश रावल भन्छन्, ‘केजरीवालको भ्रष्टाचारविरोधी छवि राख्नु भाजपाको हितमा थिएन।’ रावल थप्छन्, ‘केजरीवालले भनेका थिए कि जनताले उनी इमानदार छन् कि छैनन् भनेर निर्णय गर्नेछन्। अब जनादेश आएको छ। अब केजरीवाललाई आफ्नो भनाइको बचाउ गर्न गाह्रो हुनेछ। यसैगरी, आम आदमी पार्टी सत्तामा आउनुअघि केजरीवालले सरकारी बंगला नलिने र आफ्नो सानो कारमा मात्र यात्रा गर्ने बताएका थिए तर उनले त्यो प्रतिबद्धता कार्यान्वयन गर्न सकेनन्। कतिपय विश्लेषक केजरीवालले आफैंले निर्माण गर्न खोजेको छविलाई आफैंले कमजोर बनाएको र भारतमा वैकल्पिक राजनीतिक तर्क कमजोर भएको ठान्छन्। राजनीतिक विश्लेषक योगेन्द्र यादव भारतमा वैकल्पिक राजनीतिको सपना देख्नेको हार भएको बताउँछन्। ‘आम आदमी पार्टीका शीर्ष नेताले हार्नु सामान्य कुरा होइन। सित्तैमा सुविधा मात्र होइन, दिल्लीका जनताले सुशासन, राम्रो सडक र सफासुग्घर दिल्ली चाहेको देखिएको छ,’ उनले सामाजिक सञ्जाल एक्समा भनेका छन्। राजनीतिशास्त्रका प्राध्यापक आशुतोषकुमार मध्यम वर्गले केजरीवाललाई साथ नदिएको ठान्छन्। ‘यो वर्गले आफूले दिएको कर अनुदानमा जाने गरेको ठानिसकेका थिए। उनीहरूलाई निःशुल्क बससेवा र बिजुलीपानीमा त्यति रुचि थिएन,’ उनी भन्छन्। केजरीवालले पानी–बिजुली र अन्य प्रकारका अनुदान जारी राख्ने बताएका थिए। दिल्लीमा धार्मिक र जातीय पहिचानको राजनीति हावी नभएको प्रसंग उद्धृृत गर्दै आशुतोषकुमार थप्छन्, ‘केजरीवालले गरिबका मुद्दाहरूको राजनीति सुरु गरे। तर जब गरिबहरूको विश्वास डगमगाउन थाल्यो, त्यतिवेला पार्टीका लागि कठिन परिस्थिति हुने निश्चित थियो।’ आम आदमी पाटीबाट पंजावबाट लोकसभा सासदसमेत बनेका तर पछि उक्त पार्टी छाडेका धर्मवीर गान्धी केजरीवालले आफ्नो छवि विपरीत काम गरेको ठान्छन्। ‘दिल्लीमा आम आदमी पार्टीको पराजयबाट केजरीवालले प्रस्तुत गरेको छविको एक प्रतिशत पनि सत्य नभएको देखिएको छ,’ उनी भन्छन्। गान्धी थप्छन्, ‘केजरीवालले भनेका थिए कि उनी एक सामान्य मानिस हुन् र मुख्यमन्त्री बनेपछि पनि सामान्य मानिस जस्तै रहनेछन्। तर यो झुट साबित भयो। उनले आफ्नो लागि ठुलो बंगला बनाए र महँगो कार किने। केजरीवालले आफू एक लोकतान्त्रिक नेता भएको र स्वराजमा विश्वास गर्ने बताए, यो पनि गलत साबित भयो। आम आदमी पार्टीमा कुनै लोकतन्त्र छैन र पार्टीभित्र उनको आदेश हाबी छ।’ आम आदमी पार्टीका संस्थापकहरू प्रशान्त भूषण, योगेन्द यादव र प्राध्यापक आनन्द कुमारजस्ता व्यक्तिहरू थिए। हाल उनीहरू सबै उक्त पार्टीबाट अलग भइसकेका छन्। (एजेन्सीमा आधारित)