काठमाडाैं । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियाली मुलुक साउदी अरेबियामा हुने भएको छ।  साउदी अरेबियाका रियाद, जेद्दा, अल खोबर, आभा र निओम शहरका १५ रंगशालामा खेल खेलाइने एजेन्सीले जनाएको छ। ९२ हजार दर्शक क्षमता भएको रियादको किङ सलमान स्टेडियम निर्माण सम्पन्न भएपछि त्यहाँ उद्घाटन र फाइनल खेल हुने चर्चा छ। खेल हुने १५ मध्ये चारवटा रंगशाला बनिसकेको सञ्चारमाध्यमले जनाएको छ।  यसअघि सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ। २०३० को विश्वकपका खेल मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वे गरी ६ देशमा हुनेछ। साउदी अरबले विश्वकप फुटबल आयोजनाको जिम्मेवारी पाएको फिफाको घोषणाले त्यस देशका नागरिकमा मात्र खुसी छाएको छैन । त्यो खुसीमा साउदीको विकासमा श्रम–पसिना बगाइरहेका १ करोड ३४ लाख आप्रवासी श्रमिक पनि जोडिएका छन् । आप्रवासी श्रमिकको यो संख्या साउदीको कुल जनसंख्याको ४२ प्रतिशत हिस्सा हो, जसमा ४ लाख नेपाली श्रमिक पनि छन् । यो विश्वकप प्रधानमन्त्री मोहम्मद विन सलमानको साउदीलाई ‘विश्वकै लगानी केन्द्र’का रूपमा स्थापित गर्ने २०३० को लक्ष्यसँग जोडिएको छ ।   साउदीका लागि नेपालका पूर्वराजदूत नवराज सुवेदी भन्छन्, ‘साउदीले विश्वकप आयोजना गर्नु हाम्रा लागि थप रोजगारको ढोका खुल्ने अवसर हो, नेपाली श्रमिकलाई साउदीले सधैं उच्च प्राथमिकता दिँदै आएको छ, यो विश्वकपको अधिकतम फाइदा नेपालले लिन सक्नुपर्छ ।’ पछिल्लो १० वर्षमा साउदीमा १३ लाख ५२ हजार ८ सय नेपालीले श्रम गरेका छन्, जसमा १ लाख ११ हजार महिला छन् । कोभिडपछि वैदेशिक रोजगारीको अवसर खस्कँदै गएका बेलामा समेत साउदीले थप अवसर दिएको थियो र दिँदै पनि आएको छ । गतवर्ष मात्र ८ सय महिलासहित १ लाख ४८ हजार नेपाली श्रमिक साउदी गएका छन् ।