एजेन्सी । अमेरिकाको ४७ औं राष्ट्रपति हुने निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी जनताको शानदार जित भएको बताएका छन् । फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले ‘आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरे । महत्त्वपूर्ण ‘स्विङ स्टेट’ राज्यहरूमा मतपरिणाम डोनल्ड ट्रम्पको पक्षमा जाने देखिएपछि उनी राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० ‘इलेक्टोरल कलेज मत’ को निकै निकट पुगेका छन्। उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उनीहरूले भविष्यमा आजको दिनलाई फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्त्वपूर्ण दिनमध्ये एक मान्ने’ बताए। “अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,” उनले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनर्स्थापित भएको तर्फ इँगित गर्दै भने। अब सीमा व्यवस्थापन गर्ने, देशलाई (विभाजनको पीडाबाट) अघि बढाउने बताए। ‘यो अमेरिकी जनताको एक शानदार विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन अनुमति दिनेछ,’ उनले भनेका छन् । आफू राष्ट्रपति पदमा विजयी मात्र नभएको अमेरिकाको लोकप्रिय मत पनि जितेको बताए । आफूले आधिकारिक रूपमा आवश्यक इलेक्टोरल कलेज भोटहरू प्राप्त नगरेको भएपनि त्यो प्राविधिक विषय भएको उनको भनाइ छ । विभिन्न राज्यमा आफ्नो पक्षमा मतपरिणाम आउने क्रम जारी रहेको र आफूले कम्तीमा ३१५ इलेक्टोरल मत ल्याउने ट्रम्पको भनाइ छ । ‘हामीले सिनेटमा पनि नियन्त्रण कायम गरेका छौं । यो निकै महत्वपूर्ण र महान् छ,’ उनले भनेका छन् । सम्बोधनका क्रममा उनले आफ्नी पत्नी मेलानिया ट्रम्पलाई पनि स्टेजमा बोलाएर ‘पहिलो महिला’ भन्दै धन्यवाद दिएका छन् । ट्रम्पले सम्बोधन गरिरहेका बेला समर्थकहरूले भने ‘अमेरिका, अमेरिका’ भन्दै हुटिङ गरेका थिए ।