२०औं द हङकङ सिक्सेस प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डमाथि राेमाञ्चक जित हात पारेकाे छ । कप्तान सन्दीप जोराको आक्रमक अर्धशतकसँगै नेपालले इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको हो। इङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाई ९९ रन बनायो। कप्तान सन्दीपले आक्रमक ब्याटिङ गरे। १७ बल खेलेका उनले पाँच चौका र आठ छक्का प्रहार गरे। उनी अविजित रहे। जारी प्रतियोगितामा यो नै पहिलो अर्धशतक हो। उनले १३ बलमै अर्धशतक प्रहार गरेका हुन्। त्यसक्रममा उनले चार चौका र ६ छक्का प्रहार गरे। लोकेश बमले अविजित रहँदै ११ बलमा एक चौका र दुई छक्कासहित २० रन बनाए। त्यसअघि मिसन रोड ग्राउन्ड हङकङमा टस हारेर पहिला ब्याटिङ थालेको इङ्ल्यान्डले ५.५ ओभरमा सबै विकेट गुमाउँददै ९७ रन बनाएको थियो। रवि बोपराले सर्वाधिक ४९ रन बनाए। १२ बल खेलेका उनले सात छक्का र एक चौका प्रहार गरे। समित पटेल ३९ रनमा आउट हुँदा इङ्ल्यान्डका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। नेपालका प्रतिश जिसी र विवेक यादवले समान दुई विकेट लिए। नारायण जोशी र लोकेश बमको नाममा समान एक विकेट रह्यो।  ३ पटकको च्याम्पियन इङ्ग्ल्याण्डसँग प्रतियोगितामा पहिलो पटक सहभागी नेपालले जित निकालेकाे हाे ।   प्रतियोगितामा नेपाल समूह बीमा अस्ट्रेलिया र इङ्ग्ल्याण्डसँग रहेको छन् । प्रतियोगितामा नेपालको दोस्रो खेल अस्ट्रेलियासँग कात्तिक १७ गते रहेको छ । प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको छ । सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह बी मा नेपाल, इङ्ग्ल्याण्ड र अस्ट्रेलिया रहेका छन् । समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह डी मा श्रीलंका, बंगलादेश र ओमान छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् । सिक्सेस क्रिकेटका नियमहरु : १) एक टिमबाट प्रत्येक खेलमा ६ खेलाडीले सहभागीता जनाउनेछन् । २) फिल्डिङ टोलीका विकेटकिपर बाहेकका हरेक सदस्यले एक ओभर बलिङ गर्ने छन् । ३) प्रत्येक वाइड र नो-बलमा टिमले समान २ रन दिइने छ । ४) ६ विकेट झरेपछि एक इनिङ समाप्त हुनेछ । ५) एउटा ब्याट्सम्यानले नट आउट ३१ रन बनाए पछि रिटार्यट आउट लिन सक्नेछ । तल्लो क्रमका ब्याट्सम्यानले रिटायर्ट वा आउट भएपछि उसले फेरी क्रिजमा फर्किन सक्छन् ।