गत सोमबार दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपालले फाइनलको नयाँ प्रतिद्वन्द्वी बंगलादेशलाई हराएर ऐतिहासिक उपाधि जितेको भए यतिबेला सारा देशले नै यसको खुसियाली साट्दै हुन्थे । तर, विडम्बना सधैं फाइनलमा हार्ने बानी लागेको नेपालले यसपटक त्यसलाई पनि छुटाएन । बंगलादेशलाई ३–१ ले नतिजा सुम्पदै त्यो खुसियाली मनाउने बंगलादेशलाई नै मनाउने जिम्मा दियो । बुधबार स्वदेश पुगेको च्याम्पियन टोली बंगलादेशलाई भव्य स्वागत गरियो । ढाका परिक्रमासँगै आर्थिक अवस्था कमजोर रहेका खेलाडीको घर पनि सरकारले नै बनाइदिने सम्मको निर्णय भयो ।

नेपाल च्याम्पियन बनेको भए सायद यस्तै निर्णय हुन सक्थ्यो । फाइनलमा सधैं भारतसँग पराजित भएको नेपालले यसपटक फाइनलमा नयाँ प्रतिद्वन्द्वी बंगलादेश पाए पनि उपाधि जित्न सकेन । त्यो हारसँगै नेपाली टोलीका कमजोरी’bout बहस सुरु भएको छ । जसरी बंगलादेशले यो सात वर्षको अवधिमा छलाङ मारेको छ त्यसरी नै नेपालले अब च्याम्पियन बन्न प्रयास थाल्नुपर्नेछ । लगातार दोस्रोपटक नेपालमा आयोजना भएको साफमा यसपटक पनि नेपाल घरेलु भूमिमा ऐतिहासिक उपाधि जित्ने सपना पनि अधुरै भयो । ३ असोजमा झन्डै १६ हजार दर्शकमाझ नेपाल बंगलादेशसँग स्तब्ध हुँदै पुनः एकपटक उपविजेतामा सीमित बन्न पुग्यो । नेपाली महिला फुटबलको ३६ वर्षे अन्तर्राष्ट्रिय इतिहासमा राष्ट्रिय टिम फाइनलमा पराजित भएको यो १०औंपटक हो ।

नेपालले सन् १९८६ मा हङकङमा भएको एएफसी वुमन्स च्याम्पियनसिपबाट अन्तर्राष्ट्रियस्तरमा डेब्यु गरेको थियो । नेपालले सन् १९८९ र १९९९ मा पनि एसियन च्याम्पियनसिप खेलेको थियो । तर, त्यसपछिको एक दशक नेपाली महिला फुटबल शून्य अवस्थामै पुगेको थियो । सन् २०१० देखि साफ महिला च्याम्पियनसिप सुरु भयो र त्यही वर्ष दक्षिण एसियाली खेलकुद (साग)मा पनि महिला फुटबल समावेश गरियो । यही २ प्रतियोगिताबाट नेपाली महिला फुटबलमा अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गरे पनि उपाधि दावेदारका रूपमा उभिएको नेपाल लगातार उपविजेतामै सीमित बनेको छ । तर, १२ वर्षे महिला साफको इतिहासमा नेपाल उपाधिविहीन रहँदै आएको छ । यसअघिका चारपटक फाइनलमा भारतसँग पराजित भएको नेपाल यसपालि बंगलादेशसँग पराजित भयो । नेपालको उपाधि यात्रामा बंगलादेश पनि थपियो । बंगलादेश र नेपालले भारतलाई पराजित गर्दै दक्षिण एसियामा उसको दबदबा अन्त्य गरेको थियो । समूह चरणमा बंगलादेशसँग ३–० ले पराजित भएको भारत नेपालसँग १–० ले पराजित हुँदै सेमिफाइनलबाटै बाहिरियो । साफ च्याम्पियनसिपमा यसअघि २५ खेलमा अपराजित रहेको भारतले यसपालि एकै संस्करणमा २ खेल गुमायो । यसको अर्थ ब्राजिलजस्तो बलियो टोलीसँग खेलिसकेको भारतको प्रदर्शन खस्किएको र महिला साफका भारतको दबदबा अन्त्य भएको मान्न सकिन्छ ।

महिला टिमको फाइनल
महिला साफ च्याम्पियनसिप
२०१० भारतसँग १–० ले पराजित
२०१२ भारतसँग ३–१ ले पराजित
२०१४ भारतसँग ६–० ले पराजित
२०१९ भारतसँग ३–१ ले पराजित
२०२२ बंगलादेशसँग ३–१ ले पराजित
दक्षिण एसियाली खेलकुद (साग)
२०१० भारतसँग ३–१ ले पराजित
२०१६ भारतसँग ४–० ले पराजित
२०१९ भारतसँग २–० ले पराजित
२०१९ हिरो वुमन्स गोल्डकप
म्यानमारसँग ३–१ ले पराजित
२०१९ नाजेज्दा कप
उज्वेकिस्तानसँग ३–२ ले पराजित

१०औं फाइनल हार

नेपालको महिला टोलीले सहभागिता जनाएको प्रायः सबै प्रतियोगितामा फाइनल पुगेको छ । तर, नेपालको उपविजेताको जिन्क तोड्न सकेन । नेपालको उपाधि यात्रामा भारत सदावहार तगारो बन्दा यसपालि बंगलादेश पनि थपिएको छ । सिनियर टोलीमा पछिल्लो ८ खेलमा अपराजित रहेको नेपाल यसपटक फाइनलमै बंगलादेशसँग चुक्यो । हालसम्म नेपालले भारतसँग सबैभन्दा धेरै सातपटक फाइनल गुमाएको छ । बंगलादेश, म्यानमार र उज्वेकिस्तानसँग समान एकपटक फाइनल गुमाएको छ । साफ महिला च्याम्पियनसिप होस् वा दक्षिण एसियाली खेलकुद जहाँ पनि भारत नेपालको बाधक बनिरहेको इतिहास छ ।