नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा जित निकालेको छ ।

नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा युवा ओपनर आसिफ शेखको शतकमा नेपालले केन्यामाथि ७ विकेटको सानदार जित निकालेको हो । योसँगै तीन एकदिवसिय अभ्यास खेलमा नेपालले १–० को अग्रता लिएको छ ।

जितका लागि २ सय १९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि शेखले १ सय १० रनको शतकीय इनिङ खेले । अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले । ज्ञानेन्द्र मल्ल २४ रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन जोड्दा रोहित पौडेलले अविजित ३ रन बनाए ।

केन्याका लागि विशिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २ सय १८ रन बनाएको थियो ।

केन्याका लागि रकिप पटेलले ६७ र कोलिन्स ओबुयाले ६२ रन बनाएर अर्धशतकीय इनिङ खेले । ईफ्रान करिमले ३१ तथा सचिन बुदियाले २७ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३/३ विकेट लिए । आदिल आलम र पवन सर्राफले समान १/१ विकेट लिए ।