काठमाडौंमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न आइतवार नेपाल आयल निगमले विभिन्न सात स्थानबाट सिलिन्डर बिक्री वितरण गर्ने भएको छ।
बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि उपभोक्तालाई प्रत्यक्ष रूपमा ग्यास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयको समन्वयमा यो व्यवस्था मिलाइएको हो।
बिक्री केन्द्र र उपलब्ध ब्रान्डहरू
टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सगर ग्यास बिक्री गरिनेछ। चपली-बुढानीलकण्ठस्थित पशु सेवा शाखाबाट नेपाल, एचपी र भानु ग्यास उपलब्ध हुनेछ।
कीर्तिपुरको राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ग्यास खरिद गर्न सकिनेछ। नयाँ बजार जुडे हल परिसरबाट नेपाल, एचपी र ओम ग्यास बिक्री गरिने निगमले जनाएको छ।
अन्य नगरपालिका तथा केन्द्रका डिपो
तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ग्यास उपलब्ध हुनेछ। चन्द्रागिरी नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ग्यास बिक्री गर्ने तयारी छ।
ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट, सुगम र एसटीसी ग्यास बिक्री हुनेछ। निगमले बजारमा ग्यासको आपूर्ति बढाए पनि केही व्यावसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी सिलिन्डर मौज्दात राखिएको पाएको छ।
निगमले नियमित रूपमा एलपी ग्यास आयात भइरहेकाले विक्रेतामार्फत बिक्री वितरणको नियमित व्यवस्था मिलाउन उद्योगीहरूलाई निर्देशनसमेत दिएको छ।



