इरान–अमेरिका फेरि वार्ता प्रयासः पाकिस्तान सक्रिय, बार्गेनिङ पावर बढाउँदै अमेरिका

एजेन्सी । होर्मुज जलमार्ग भएर गुज्रने व्यावसायिक जहाजहरूमाथिको आक्रमण रोक्न र जलमार्ग खुला राख्न अमेरिकाले इरानसँग सार्वजनिक प्रतिबद्धताको माग गरेको छ। अमेरिकी अधिकारीहरूले इरानले यसका लागि सार्वजनिक रूपमा विज्ञप्ति जारी गर्नुपर्नेमा जोड दिएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान र अमेरिका वार्ता जारी राख्न सहमत भएको बताएका छन्। यद्यपि, उनले यसअघिको युद्धविराम ‘समाप्त’ भइसकेको स्पष्ट पारेका छन्। यता, कतारी वार्ताकारहरू दुवै देशबिचको कूटनीतिलाई पुनः ट्र्याकमा ल्याउने प्रयासमा तेहरानमा सक्रिय छन्। जहाज ट्र्याकिङ फर्म विन्डवर्डको तथ्यांकअनुसार जुलाई ९ र १० को बिचमा लगातार तेस्रो रात पनि स्ट्रेट अफ होर्मुज हुँदै हुने व्यावसायिक यातायातमा भारी गिरावट आएको छ। १२ घण्टाको अवधिमा केवल छ वटा जहाजहरूले मात्र जलमार्ग पार गरेका छन्, जुन अस्वाभाविक हो। साथै, आफ्नो स्थान लुकाउन ट्रान्सपोन्डर बन्द गरेर हिँड्ने ‘डार्क ट्रान्जिट’ को संख्या ह्वात्तै बढेर करिब ४० प्रतिशत पुगेको छ। इरानको विदेश मन्त्रालयले समझदारीपत्र (एमओयू) अन्तर्गतको कुनै पनि अमेरिकी प्रतिबद्धता उल्लंघनलाई ‘पारस्परिक कारबाही’ गरिने चेतावनी दिएको छ। इरानी अधिकारीहरू पाकिस्तानी मध्यस्थतामा भएको समझदारीपत्रको कार्यान्वयनमा अमेरिकी नियतप्रति अझै शंकास्पद देखिन्छन्। इरानी संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफले हालैको द्वन्द्वमा इरान कहिल्यै आत्मसमर्पण नगर्ने बताउँदै देश पूर्ण स्तरको युद्धको लागि तयार रहेको दाबी गरेका छन्। इरानी अधिकारीहरू जबरजस्ती कूटनीतिमा हार नमान्ने अडानमा छन्। उनीहरू भन्छन्, ‘संयुक्त राज्य अमेरिकासँग वार्ता जारी राख्नका लागि अमेरिकाले सम्झौता पत्रका धाराहरू, विशेष गरी लेबनानसहित सबै मोर्चाहरूमा युद्धविराम, होर्मुज जलमार्ग व्यवस्थापनमा इरानको सार्वभौम अधिकार र तेल निर्यात गर्ने अधिकार लागू गर्नुपर्छ।’ पूर्व अमेरिकी नौसेना अधिकारी तथा किलोवेन समूहका अध्यक्ष हार्लन उलम्यानका अनुसार इरानले वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पको असंगत अभिव्यक्तिमा ‘कमजोरी’ देखेको छ। उनी भन्छन्, ‘तेहरानको दृष्टिकोणबाट, उनीहरूले अमेरिकाको पक्षमा कमजोरी र नीतिको अभाव देख्छन्।’ उलम्यानले हालको द्वन्द्वलाई सन् १९५१ देखि १९५३ सम्मको कोरियाली युद्धसँग तुलना गर्दै ‘तातो र चिसो’ युद्धको संयोजनको रूपमा व्याख्या गरेका छन्। वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्प प्रशासनले अब इरानसँगको आणविक सम्झौता असम्भव रहेको निष्कर्ष निकाल्न थालेको छ। अमेरिकी अधिकारीहरूले चेतावनी दिएका छन् कि यदि इरानले आफ्नो गाडिएको समृद्ध युरेनियमको नियन्त्रण अमेरिकालाई हस्तान्तरण गरेन भने आणविक सम्झौता हुन सक्दैन। संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूत अमिर सईद इरावनीले होर्मुज जलमार्गमा हुने कुनै पनि ‘विशेष रूपमा इरानसँग सम्बन्धित’ गतिविधि अब आफ्नो एकल नियन्त्रणमा रहनुपर्ने र जहाजहरूले तेहरानलाई शुल्क तिर्नुपर्ने बताएका छन्। हाल, ओमान र पाकिस्तानले तनाव कम गर्न मध्यस्थताको भूमिका खेलिरहेका छन्। अर्कोतर्फ इजरायली अधिकारीहरूले आवश्यक परेमा थप ठुलो शक्तिका साथ इरानको प्रतिकार गर्ने चेतावनी दिएको छ। यसैबीच अमेरिकाले हजारवटा मिसाइल प्रहार गर्ने भन्दै इरानलाई धम्काइरहेको छ। र बार्गेनिङ पावर बढाइरहेको बुझिएको छ।

