कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तीय संस्था ‘डच स्पाकासेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसन’ सँग रणनीतिक परियोजना सम्झौता गरेको छ। जर्मनीको संघीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रम अन्तर्गत यो साझेदारी गरिएको हो।
एशियाका छानिएका देशहरूमा वित्तीय क्षेत्रको सामाजिक पारिस्थितिकीय रूपान्तरण अभियान अन्तर्गत यो सम्झौता भएको बैंकले जनाएको छ।
सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र जर्मन वित्तीय संस्थाकी एशिया डिभिजन प्रमुख डा. इलोन्स्का रुल स्टेर्नले हस्ताक्षर गरे। दिगो बैंकिङका लागि हरित बैंकिङ अभ्यासहरूलाई संस्थागत र विस्तार गर्न यो साझेदारीलाई दुई क्रमिक चरणहरूमा विभाजन गरिएको छ।
साझेदार संस्थाको प्राविधिक सहयोग र नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीको मार्गदर्शनमा बैंकले आफ्ना बैंकिङ परिपाटीहरूलाई परिमार्जन गर्नेछ। यसबाट हरित वित्त, न्यून कार्बन उत्सर्जन, दिगो तथा उत्थानशील उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने कुमारी बैंकका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले बताए।
सम्झौता अनुसार जर्मन संस्थाले आफ्नो स्वामित्वमा रहेका विशेष प्राविधिक पद्धतिहरू उपलब्ध गराएर प्राविधिक सहयोग पुर्याउनेछ। जसमा ‘इएसजी रिस्क राडर’ र ‘सस्टेनेबल फाइनान्स कम्पास’ जस्ता प्रणालीहरू समावेश छन्।
ग्रामीण क्षेत्र र साना तथा मझौला उद्योगहरूको सबलीकरण एवं हरित उद्यम क्षमता अभिवृद्धि गर्न ‘डिस्क बिजनेस गेम’ समेत सञ्चालन गरिने भएको छ। कुमारी बैंकले आफ्नो सुदृढ नेटवर्क मार्फत यस रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा लैजाने रणनीति बनाएको छ।
हाल कुमारी बैंकले आफ्ना २ सय ८६ शाखा, ३ सय ३ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ एकाइ र १ हजार १ सयभन्दा बढी पीओएस टर्मिनल सहितको सञ्जालबाट सेवा प्रदान गर्दै आएको छ। ग्राहक केन्द्रित नवीनता र सुशासनका लागि परिचित कुमारी बैंक र जर्मन संस्थाबीचको यो सहकार्यले नेपालको दिगो आर्थिक विकास र जलवायु उत्थानशील भविष्यतर्फको यात्रामा महत्त्वपूर्ण ऊर्जा थप्ने विश्वास गरिएको छ।


