एजेन्सी । संयुक्त राज्य अमेरिकाले आफ्नो स्वतन्त्रताको २ सय ५० वर्ष पूरा गरेको छ । अमेरिका सन् १७७६ जुलाई ४ मा स्वतन्त्र भएको थियो । शनिबार अर्थात २०२६ जुलाई ४ लाई ‘अमेरिका २५०’ नाम दिएर उत्सव मनाएको हो । यस वर्ष अमेरिकी सरकारले ‘अमेरिका २५०’ लाई विशेष समारोह गरेर मनाएको हो । शनिबार देशभर सार्वजनिक बिदा दिँदै वर्षभर ऐतिहासिक, सांस्कृतिक र शैक्षिक कार्यक्रम आयोजना गर्ने अमेरिकी सरकारको योजना छ । अमेरिकी स्वतन्त्रताको औपचारिक सुरुवात सन् १७७६ मा भएको थियो । दोस्रो महाद्वीपीय कंग्रेसले सन् १७७६ जुलाई २ मा बेलायतबाट स्वतन्त्र हुने प्रस्ताव पारित गरेको थियो । जुलाई २ मा स्वतन्त्रता घोषणापत्रको अन्तिम भाषा र संशोधन स्वीकृत भएपछि जुलाई ४ मा उक्त दस्तावेज औपचारिक घोषणा गरिएको थियो । अमेरिकाले यसै दिनलाई स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको छ । अमेरिका सुरुवातमा १३ वटा राज्य मिलेर बनेको देश थियो । स्वतन्त्रताअघि अमेरिकाका १३ उपनिवेश बेलायती शासनभित्र थिए । बेलायतको राजनीतिक हस्तक्षेप मात्र नभई उपनिवेश बन्नु परेकोमा अमेरिकीले त्यसबेला नै स्वतन्त्रताको माग उठान गरिरहेका थिए । विशेषतः ‘प्रतिनिधित्वबिनाको कर’, व्यापारिक प्रतिबन्ध र राजनीतिक हस्तक्षेप नीतिहरूले अमेरिकाका १३ वटै राज्य बेलायतको उपनिवेश बन्न बाध्य थियो । सन् १७७६ जुलाई ४ मा स्वतन्त्रताको प्रस्तावका लागि महाद्वीपीय कंग्रेसले तयार पारेको पत्र । स्वतन्त्रताका लागि सन् १७७४ मा पहिलो महाद्वीपीय कंग्रेस पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया सहरमा बसेको थियो । जुन अमेरिकाको पुराना राजधानी भएको राज्यसमेत हो । पहिलो महाद्वीपीय कंग्रेसमा जर्जिया राज्यबाहेक १२ उपनिवेश (हालको राज्य)का प्रतिनिधि सहभागी थिए । सन् १७७५ मा सुरू भएको अमेरिकी क्रान्तिकारी युद्ध अन्त्य गर्दै १२ उपनिवेश प्रतिनिधिको पहिलो कंग्रेस बैठकले नै अमेरिका स्वतन्त्रता आन्दोलनलाई निर्णायक मोडमा पुर्‍याएको थियो । स्वतन्त्रता घोषणापत्र तयार पार्न टमस जेफर्सनको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । उनी अमेरिकाको तेस्रो राष्ट्रपति हुन् । जेफर्सन सन् १८०१–१८०९ सम्म राष्ट्रपति भएका थिए । समितिमा जोन एडम्स, बेन्जामिन फ्यांलिन, रोजर शरमन र रोबर्ट लिभिङ्स्टन सहभागी थिए । जेफरसनले तयार पारेको मस्यौदालाई समितिले परिमार्जन गरेपछि कंग्रेसले अनुमोदन गरेको थियो । कंग्रेसको अनुमोदनसँगै अमेरिका बेलायतबाट स्वतन्त्र भएको हो । त्यही अनुमोदनको मितिलाई अमेरिकाले स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको छ । ‘पुरानो अमेरिका’मा १३ राज्य स्वतन्त्रता प्राप्त गर्ने प्रारम्भिक १३ उपनिवेश (हालका राज्य)मा डेलावेयर, पेन्सिलभेनिया, न्यूजर्सी, जर्जिया, कनेक्टिकट, म्यासाचुसेट्स, मेरिल्यान्ड, साउथ क्यारोलाइना, न्यु ह्याम्पसायर, भर्जिनिया, न्युयोर्क, नर्थ क्यारोलाइना र रोड आइल्यान्ड हो । यिनै उपनिवेशबाट सुरु भएको अमेरिका ५० राज्यमा विस्तार गर्दै संयुक्त राज्य अमेरिका बनेको हो । स्वतन्त्रता दिवसमा राष्ट्रपति ट्रम्पले भने, ‘अमेरिकाका शत्रुहरू इतिहासबाटै हराइसकेका छन् ।’ अमेरिकी स्वतन्त्रताको २ सय ५० औं वार्षिकोत्सवका अवसरमा दक्षिण डकोटास्थित माउन्ट रसमोरमा आयोजित कार्यक्रममा बोल्दै ट्रम्पले शीतयुद्धपछि अमेरिकाका शत्रु इतिहासको गहिराइमा हराएको बताएका हुन् । राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाको शक्ति र इतिहासको प्रशंसा गर्दै भने, ‘हामीले संसारकै सबैभन्दा शक्तिशाली सेना निर्माण गरेका छौं । हामीले दुई विश्वयुद्ध जित्यौं । त्यसपछि हाम्रा शत्रु इतिहासको गहिराइमै हराइसकेका छन् । अमेरिका अहिले पनि विश्वकै शक्तिशाली राष्ट्र हो ।’ पछिल्ला द्वन्द्वबारे ट्रम्पले कडा टिप्पणीसमेत गरेका छन् । उनले अमेरिकाले एकै दिनमा भेनेजुएलालाई हराएको र इरानलाई नराम्ररी प्रहार गरेको बताए । विभिन्न देशहरूबीच तनाव झेलिरहेका ट्रम्पले अमेरिका उदार राष्ट्र भएको दाबीसमेत गरे । इरानी सर्वोच्च नेता खामेनेईको अन्त्येष्टिका लागि एक साताको समय दिएको र यसबाट अमेरिका उदार भएको पुष्टि हुने ट्रम्पको भनाइ छ । ट्रम्पले अमेरिकाले स्वतन्त्रताको २ सय ५० वर्ष बितारहँदा ठूला-ठूला प्रगति गरिएको उद्घोष गरे । ‘२५० वर्षको इतिहासमा अमेरिका विश्वकै सबैभन्दा पुरानो गणतन्त्र, सबैभन्दा स्वतन्त्र जनता भएको देश र सबैभन्दा न्यायपूर्ण तथा दीर्घकालीन संविधान भएको राष्ट्र हो,’ ट्रम्पले भने ।