अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता हुन सक्ने दाबी गर्दै सैन्य आक्रमणको धम्की स्थगित गरिएको बताए पनि तेहरानले भने कुनै अन्तिम निर्णयमा नपुगेको स्पष्ट पारेको छ । मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने भनिएको सम्भावित सम्झौताबारे दुवै पक्षका फरक–फरक दाबी सार्वजनिक भइरहेका छन् ।
तेहरानस्थित विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले शुक्रबार वार्ता जारी रहे पनि सम्झौतामा अन्तिम निष्कर्षमा नपुगेको बताए । उनका अनुसार अधिकांश विषयमा सहमति नजिक पुगे पनि अमेरिकी पक्षले नयाँ माग राखेपछि प्रक्रिया अवरुद्ध भएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौता ‘उच्च राजनीतिक तहमा स्वीकृत’ भइसकेको दाबी गर्दै इरानमाथि तय गरिएको आक्रमण र बमबारी रोकिएको घोषणा गरेका छन् । उनले हस्ताक्षरको समय र स्थान चाँडै सार्वजनिक गरिने बताउँदै वार्ता सकारात्मक दिशामा अघि बढिरहेको सङ्केत गरे ।

ट्रम्पका अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा तत्काल प्रभाव देखिएको छ, जसअनुसार सेयर बजारमा वृद्धि र तेलको मूल्यमा गिरावट आएको छ । सम्भावित सम्झौतामा अमेरिका र क्षेत्रीय सहयोगीहरू, विशेषगरी इजरायल समेत सहभागी रहेको ट्रम्पको दाबी छ ।

उनका अनुसार वार्ताका मुख्य बुँदा र विस्तृत रूपरेखा सबै पक्षबाट स्वीकृत भइसकेका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि छलफल भएको उल्लेख गर्दै सम्झौतामा इरानको समृद्ध आणविक सामग्री हटाउने र मिसाइल पूर्वाधार निष्क्रिय गर्ने विषय समावेश हुने बताए ।

इरानले अमेरिकी दाबी अस्वीकार गर्दै सम्झौता अझै टुङ्गोमा नपुगेको स्पष्ट पारेको छ । तेहरानले अमेरिकी पक्षले बारम्बार अडान परिवर्तन गर्ने गरेको आरोप लगाउँदै वार्ता जटिल बन्दै गएको जनाएको छ ।

इरानी सञ्चारमाध्यमले ट्रम्पले पछिल्ला महिनामा दर्जनौँ पटक सम्झौता नजिक पुगेको दाबी दोहो¥याएको उल्लेख गर्दै त्यसप्रति शङ्का व्यक्त गरेका छन् । क्षेत्रीय कूटनीतिक प्रयास तीव्र बनेको अवस्थामा पाकिस्तान र कतारको मध्यस्थतामा ब्याक–च्यानल वार्ता अघि बढिरहेको छ । इजिप्टले पनि दुवै पक्षलाई उपलब्ध अवसरको सदुपयोग गर्न आग्रह गरेको छ ।

फेब्रुअरी २८ मा इरानमाथि भएको अमेरिका–इजरायल संयुक्त आक्रमणपछि सुरु भएको भनिएको युद्ध अप्रिलको युद्धविरामपछि रोकिएको भए पनि स्थायी समाधान अझै नदेखिएको अवस्थामा पछिल्लो कूटनीतिक पहल आएको हो । तेहरानमा भने नागरिकहरू युद्ध र आर्थिक दबाबले निराश बनेका छन् ।

इरानी सैन्य नेतृत्वले अमेरिकाले पुनः आक्रमण गरे कडा प्रतिकार हुने चेतावनी दिएको छ । साथै इरानले हर्मुज जलघाँटीमा निगरानी कडा बनाउँदै तेल तथा ग्यास ढुवानी मार्ग ‘अर्को सूचना नआउन्जेल’ सीमित गरिएको जनाएको छ ।

यस कदमले विश्व ऊर्जा बजारमा थप दबाब सिर्जना गरेको छ । ट्रम्पको आशावादी दाबी र तेहरानको अस्वीकारबीच मध्यपूर्वको कूटनीतिक वातावरण अझै अनिश्चित बनेको देखिन्छ ।