एजेन्सी । इरानले अमेरिकासँग भएको युद्धविराम सम्झौताका तीन सर्त उल्लंघन गरिएको आरोप लगाएको छ। यसमा उसले लेबननमा इजरायलले जारी राखेको आक्रमण पनि उल्लेख गरेको छ। इरानको संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले विज्ञप्ति जारी गरी दशबुँदे प्रस्तावका तीन सर्त उल्लंघन गरिएको बताएका हुन्। विज्ञप्तिमा लेखिएको छ, ‘हामीले अमेरिकालाई विश्वास नगर्नुको कारण भनेको आफ्नो वाचा बारम्बार तोड्ने उसको लामो समयदेखिको बानी हो। यो दुर्भाग्यपूर्ण छ- उसले फेरि आफ्नो उही प्रवृत्ति दोहोर्‍याएको छ।’ इरानी सभामुखले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘अमेरिकी राष्ट्रपतिले स्पष्ट रूपमा भनेका थिए- इरानको दशबुँदे प्रस्ताव वार्ताको ‘आधार’ हो। तर अहिलेसम्म यस प्रस्तावका तीन हिस्सा उल्लंघन गरिएको छ।’ बुधबार लेबननमा इजरायलले गरेको हमलामा साढे २ सय नागरिकको मृत्यु र ११ सय बढी घाइते भएका थिए। इरानका सभामुख मोहम्मद बाघेर गालिबाफले युद्धविराम घोषणा भएकै दिन यस्तो हमला हुनुले थप वार्ताको ‍औचित्य नरहेको बताएका हुन्। उनले सर्तविपरीत अमेरिकाले परमाणु कार्यक्रम त्याग्न दबाब दिएको पनि बताएका छन्। सम्झौताको पहिलो सर्त लेबनानमा युद्धविराम गर्ने भए पनि इजरायलले आक्रमण जारी राखेको छ। जबकि मध्यस्थकर्ता पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफले लेबनानसहित सबै क्षेत्रमा तत्काल युद्धविराम हुनुपर्ने स्पष्ट पारेका थिए । त्यस्तै अर्काे सर्तमा इरानको फार्स प्रान्तस्थित लार सहरमा एउटा घुसपैठ गरी आएको ड्रोन खसालिएको छ। यो इरानको हवाई सीमाको सम्मान गर्ने सर्तको सिधै उल्लंघन हो। प्रस्तावको छैटौं बुँदामा इरानको युरेनियम संवर्धन गर्ने अधिकारलाई स्वीकार गरिएको भए पनि अहिले अमेरिकाले यसलाई इन्कार गरिरहेको इरानको आरोप छ । सभामुख गालिबाफले वार्ता सुरु हुनुअघि नै सर्तहरू तोडिएको अवस्थामा अब दुईतर्फी युद्धविराम वा वार्ता गर्नु तर्कसंगत नहुने बताएका छन् । इरानको यो भनाइले शान्ति प्रक्रियामा ठूलो धक्का पुग्ने देखिएको छ। यसैबीच, पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफले दुवै देशका प्रतिनिधिहरूलाई आगामी अप्रिल १०( चैत २८) मा थप वार्ताका लागि इस्लामावादमा निमन्त्रणा गरेका छन् । इरानका विदेशमन्त्री अब्बास अराघचीले यसअघि नै अमेरिकालाई ‘युद्धविराम’ र ‘पूर्ण युद्ध’ मध्ये एउटा रोज्न चेतावनी दिइसकेका छन् । युद्धविराम भंग भएकाे भन्दै इरानले तेल निर्यातकाे घाँटी स्ट्रेट अफ हर्मुज फेरि बन्द गराएकाे छ ।