ट्रम्पको आकस्मिक यू-टर्न ले विश्वमा राहत, अमेरिका र इरानबीच दुई साताको युद्धविराम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साताको युद्धविरामको सहमति भएको घोषणा गरेका छन्। यो निर्णय उनको ‘आज राति एउटा पूरै सभ्यता समाप्त’ गर्ने चेतावनीको केही घण्टामात्र अघि आएको हो।
ट्रम्पले मंगलबार साँझ आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “हामीले आफ्ना सबै सैन्य लक्ष्यहरू पूरा गरिसकेका छौं र इरानसँग दीर्घकालीन शान्तिको सम्झौताको नजिक पुगेका छौं।” उनले इरानले स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा खोल्ने सर्तमा यो दुईतर्फी युद्धविराम लागू हुने बताएका छन्।
यो सहमतिमा पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफको महत्वपूर्ण मध्यस्थता रहेको छ। दुवै पक्षबीच आगामी शुक्रबारदेखि पाकिस्तानको इस्लामावादमा प्रत्यक्ष वार्ता सुरु हुने भएको छ। इरानी विदेशमन्त्री अब्बास अरागाचीले पनि होर्मुज जलमार्गमा सुरक्षित आवतजावत सुनिश्चित गर्ने र जवाफी हमलाहरू रोक्ने प्रतिबद्धता जनाएका छन्।
इरानी सरकारी सञ्चारमाध्यमले भने यसलाई ट्रम्पको ‘अपमानजनक पछाडि हटाइ’ भनेर व्याख्या गरेका छन्। यद्यपि, इरानले आफ्नो १० बुँदे शान्ति प्रस्तावलाई वार्ताको आधार बनाउन तयार रहेको जनाएको छ।
फेब्रुअरी २८ देखि सुरु भएको यो द्वन्द्वमा हालसम्म ५ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्, जसमध्ये इरानमा मात्र १६ सयभन्दा बढी सर्वसाधारण छन्। इजरायलले पनि युद्धविराममा सहमति जनाउँदै आफ्नो बमबारी अभियान स्थगित गरेको छ।
तर युद्धविरामको घोषणापछि पनि तनाव कायमै छ। इजरायली सेनाले घोषणाको केही मिनेटमै इरानबाट मिसाइल प्रहार भएको जनाएको छ। खाडी क्षेत्रमा भने हिंसा रोकिएको छैन — संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानी मिसाइल र ड्रोन आक्रमणको प्रयास भइरहेको छ भने साउदी अरबले पूर्वी क्षेत्र र रियादमा आपत्कालीन अलर्ट जारी गरेको छ।
यो समाचारसँगै अन्तर्राष्ट्रिय बजारमा राहत देखिएको छ। अमेरिकी स्टक फ्युचर्समा उल्लेख्य वृद्धि भएको छ भने कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। अमेरिकी कच्चा तेलको मूल्य १७ प्रतिशतभन्दा बढीले घटेर प्रति ब्यारेल ९२ डलरमा झरेको छ।
ट्रम्पको यो कदमलाई कूटनीतिक ‘आकस्मिक मोड’ का रूपमा हेरिएको छ। मध्यावधि चुनाव नजिकिँदै गर्दा बढ्दो इन्धन मूल्य र युद्धबाट आक्रोशित अमेरिकी जनताको दबाबलाई समेत यसले केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ।
यद्यपि, विश्लेषकहरूले युद्धविरामको कार्यान्वयन चुनौतीपूर्ण हुने र खाडी क्षेत्रका सहयोगी राष्ट्रहरू अझै जोखिममा रहेको बताएका छन्। दुई हप्ताभित्र इस्लामावाद वार्ताबाट दीर्घकालीन शान्ति सम्झौता हुन सक्ने ट्रम्पको आशा छ, तर इजरायल र क्षेत्रीय तनावले यसलाई जटिल बनाउन सक्ने देखिन्छ।एजेन्सी

