मौसममा क्रमिक सुधार हुँदै

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहेको छ। यसका कारण देशका अधिकांश भागमा बादल लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा धेरैजसो बादल लागेको छ।
तुलनात्मक रूपमा मौसममा केही सुधार आए पनि आज देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित वर्षा/हिमपातको सम्भावना रहेको छ।
आज दिउँसोको अवस्था देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरीसहित मध्यम वर्षा वा हिमपात हुन सक्छ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा/हिमपातको सम्भावना बढी छ भने अन्य प्रदेशका थोरै स्थानहरूमा पनि यस्तो अवस्था रहन सक्छ।
रातिको अवस्था देशभर सामान्यतया बादल लागिरहने छ। कोशी प्रदेशलगायत अन्य प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ।
मौसमविद्हरूका अनुसार आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ। यसअघि शुक्रबार हावाहुरी र असिनासहितको वर्षाले देशका धेरै ठाउँमा क्षति पुर्याएको थियो भने जनजीवन प्रभावित भएको थियो।
आज पनि केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेकाले सर्वसाधारण, किसान तथा सरोकारवालालाई सतर्क तथा सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

