“वातावरण, जैव मण्डल र जैव विविधताको संरक्षणका नारा सहित बायोइथिक्स दिवस सम्पन्न”

“वातावरण, पर्यावरण र जैव विविधताको संरक्षण हाम्रो दायित्व” भन्ने नारासहित सन् २०२५ को बायोइथिक्स दिवस नेपालमा विविध चेतनामूलक र प्रतियोगितात्मक कार्यक्रमसहित मनाइएको छ। नेपालका विभिन्न मेडिकल कलेजहरूको सहभागितामा आयोजित उक्त दिवसको समापन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) मा सम्पन्न भयो।
कार्यक्रमको अध्यक्षता प्रा.डा. धनरत्न शाक्य, प्रमुख मानसिक रोग विभाग तथा नेपाल बायोइथिक्स एकाई प्रमुखले गर्नुभएको थियो। संचालन विद्यार्थी संकायकी अनिशा गिरी र क्रिष्टिना राई ले गरेका थिए।
मुख्य वक्ताको रूपमा प्रा.डा. शाक्यले बायोइथिक्स सिद्धान्तको परिचय दिँदै भन्नुभयो— “मानव अस्तित्व, स्वास्थ्य र विकासका लागि वातावरण, जैव मण्डल र जैव विविधताको संरक्षण अत्यावश्यक छ। यसका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका र पैरवी गर्नुपर्छ।”
- त्यस अवसरमा प्रा.डा. सरुन कोइराला (चिकित्सा शिक्षा), डा. अशोक ऐर (दन्त चिकित्सा), र खेमचन्द सुवेदी (नागरिक तथा कानूनी पक्ष) ले बायोइथिक्सका विविध पक्षमा आ–आफ्ना विचार प्रस्तुत गरे। विद्यार्थी समिप रेग्मी ले यस वर्षको नारासम्बन्धी सेमिनार प्रस्तुति राखे।

प्रतियोगितात्मक कार्यक्रमहरूमा फोटोग्राफी, आर्ट पोस्टर, वैज्ञानिक पोस्टर, र कविता प्रतियोगिता सञ्चालन गरिएको थियो।
फोटोग्राफीतर्फ सुरजा शाक्य प्रथम, सम्पदा धिमाल द्वितीय, र सुदिन भुषाल तृतीय घोषित भए।
आर्ट पोस्टरमा उज्ज्वल ठाकुर र सुरजा शाक्य विजेता बने।
वैज्ञानिक पोस्टरमा प्रशान्त सापकोटा, र
कविता प्रतियोगितामा जीवन भुजेल पुरस्कृत भए।
निर्णायक मण्डलमा प्रा.डा. रविराम श्रेष्ठ, प्रा.डा. सरुन कोइराला, डा. अशोक ऐर, डा. किशोर गुरुंग, र प्रा.डा. धनरत्न शाक्य लगायतका विशेषज्ञहरू संलग्न थिए।
कार्यक्रमका संयोजक प्रा.डा. शाक्यका अनुसार, “बायोइथिक्सबारे अध्ययन, मन्थन र छलफलका कार्यक्रमहरू नियमित र विस्तार हुँदै जानु आवश्यक छ।”
सन् २०१३ मा नेपाल बायोइथिक्स सञ्जालमा आबद्ध भएको हो र सन् २०१६ देखि हरेक वर्ष अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएको छ।
युनेस्कोको बायोइथिक्स चेयरका अनुसार, चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा नीतिनियम (Ethics) सम्बन्धी शिक्षा, तालिम र अनुसन्धानलाई प्रोत्साहन दिनु नै यसको उद्देश्य हो।

