विश्वकप क्रिकेट लिग–२: अमेरिकालाई हराउने लक्ष्यसहित खेल्दै नेपाल

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । शृंखलामा नेपाल र अमेरिकासँगै घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सहभागी छन् । नेपाल शृंखलाका खेलहरू जित्दै अंकतालिका सुधार गर्ने योजनामा छ । तेस्रोपटक आइसिसी टी–२० विश्वकपमा स्थान बनाएपछि नेपाली टिम डिभिजन २ का खेल खेल्न तयार भएको हो । विश्वकपमा नेपाललाई छनोट गराएका प्रशिक्षक स्टुआर्ट ललाई अब डिभिजन २ को चुनौती थपिएको छ । लगातार कमजोर प्रदर्शनपछि नेपाली टिमलाई एकदिवसीय मान्यता जोगाउन हम्मे–हम्मे छ । नेपाल युएईको शृंखला जित्दै तालिका सुधार गर्ने योजनामा छ । यता, अमेरिका पनि नेपाल र युएईलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लने दाउमा छ । लिग–२ को तालिकामा अमेरिका २० खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ । २४ खेलमा ३० अंक जोडेको स्कटल्यान्ड शीर्ष स्थानमा छ । आठ राष्ट्र सहभागी लिगमा नेपाल १६ खेलबाट १२ अंकसहित सातौँ स्थानमा छ । यता, युएईले १६ खेलबाट ६ अंक जोडेर पुछारमा छ । अब, लिग–२ को शृंखलामा नेपालले दोस्रो खेल युएईविरुद्ध १३ कात्तिकमा खेल्नेछ । तेस्रो खेल १५ कात्तिकमा अमेरिकाविरुद्ध हुँदा शृंखलाको अन्तिम खेल १९ कात्तिकमा युएईविरुद्ध हुने तालिका रहेको छ । यसअघि नेपालले युएईमै भएको वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० शृंखला जितेको थियो । तीन शृंखलामा नेपाल २–१ ले विजयी भएको हो । त्यसैले पनि नेपाली खेलाडी युएईको मौसममा अभ्यस्त छन् । गत जेठमा स्कटल्यान्डमा भएको शृंखलामा नेपालले सानदार प्रदर्शन गरेको थियो । चारमध्ये तीन खेल जितेको नेपाल पुन: सोही नतिजा दोहोर्याउने रणनीतिमा छ । शृंखलामा नेपालले दुवै खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । घरेलु टोली स्कटल्यान्डविरुद्ध एक जित र एक हारको नतिजा निकालेको हो । चार महिनाअघि स्टुआर्ट लको आगमनपछि नेपालले पहिलोपटक लिग–२ शृंखला खेल्यो, जसमा उत्कृष्ट प्रदर्शन गरेको थियो । मोन्टी देसाईलाई निरन्तरता दिँदा टोलीले बिर्सनलायक प्रदर्शन गरेपछि क्यानले स्टुआर्ट ललाई जिम्मेवारी दिएको हो । टी–२० विश्वकप छनोट खेल्दा टिमबाहिर रहेका तीन खेलाडीलाई प्रशिक्षक स्टुआर्ट लले लिग–२ मा अवसर दिएका छन् । उनले ओपनर अनिलकुमार शाह र ब्याटर भीम सार्की तथा बलर साहब आलमलाई पुनरागमन गराएका छन् । यस्तै, आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक च्याम्पियन बनाएका अलराउन्डर आदिल आलम, ब्याटर लोकेश बम र सन्दीप जोरा बाहिरिएका छन् ।

