कतारमाथि नेपालको रोमाञ्चक जित, सन्दीप लामिछानेको ५ विकेट

काठमाडौं– सन्दीप लामिछानेको शानदार ५ विकेटको प्रदर्शनमा नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट एशिया-प्यासिफिक छनोटको सुपर सिक्स चरणमा कतारलाई ५ रनको रोमाञ्चक जित हासिल गरेको छ। यो जितले नेपालको सेमिफाइनल यात्रालाई थप मजबुत बनाएको छ।
कतारले पछ्याउनुपर्ने १४८ रनको लक्ष्यमा १९.५ ओभरमा १४२ रनमा अलआउट हुँदा उसको हार निश्चित भयो। कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रनको आकर्षक पारी खेले भने जुबेर अलीले ५२ रनको योगदान दिए। तर, अन्य ब्याट्सम्यानहरूबाट उल्लेखनीय प्रदर्शन नआउँदा कतारले लक्ष्य नजिक पुग्न नसकेको हो।
नेपालको बलिङ आक्रमणमा सन्दीप लामिछानेको ५ विकेटले कतारलाई ध्वस्त बनायो। यसबाहेक नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए। एक समय सहज जितको दिशामा देखिएको कतारविरुद्ध नेपालले फेरि एकपटक शानदार पुनरागमन गरेको थियो। दीपेन्द्रसिंह ऐरीको एक रनआउट र आदिलको एक रनआउटले खेललाई नेपालको पक्षमा ढालेको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४७ रनको मध्यम योगफल खडा गरेको थियो। कप्तान रोहित पौडेलले ४१ बलमा ५८ रनको अर्धशतकीय पारी खेलेर टिमलाई सम्मानजनक स्कोरसम्म पुर्याए। दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन थपे भने गुल्शन झाले ८ बलमा १६ रनको क्यामियो पारी खेल्दै तालिकामा रंग थपे।
कतारको बलिङमा कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने डानियल लुइसले पनि ३ विकेट हात पारे। मुहम्मद असिमले १ विकेट लिएर योगदान दिए।
यो जितसँगै नेपाल सुपर सिक्स चरणमा अपराजित छ। यसअघि आइतबार नै नेपालले यूएईलाई पराजित गरेको थियो।

