ललितपुर, १ सेप्टेम्बर २०२५ – धनुषाका १७ वर्षीय सामाजिक अभियन्ता तथा सामग्री निर्माता श्री कृष यादव लाई यस वर्षको ‘गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५’ उपाधि प्रदान गरिएको छ। ललितपुरको द प्लाजामा सम्पन्न भव्य समारोहमा उनलाई यो सम्मान प्रदान गरिएको हो।

ग्लोकल प्रा.लि.ले आयोजना गर्ने यो प्रतिष्ठित पुरस्कारले शैक्षिक क्षेत्रमा मात्र नभई, समाजमा ठोस प्रभाव पार्ने किशोर-किशोरीहरूको सिर्जनशीलता र योगदानलाई सम्मान गर्दै आएको छ।

यस वर्षका शीर्ष ६ अन्तिम प्रतिस्पर्धीहरूमा मानुषी न्यौपाने (स्याङ्जा – SRHR अभियन्ता), निश्चल ढुङ्गाना (कपिलवस्तु – जलवायु न्याय अभियन्ता), अक्सफोर्ड आचार्य (जुम्ला – नीति अभियन्ता), रेनुका सिंह (सर्लाही – कृषि उद्यमी) र सफल पौडेल (रूपन्देही – AI डेभलपर) समावेश थिए। तीमध्येबाट निर्णायक समितिले यादवलाई विजेता घोषणा गरेको हो।

कृष यादव सामाजिक अनुसन्धान, कथावाचन, शिक्षा र मिडिया क्षेत्रमा सक्रिय किशोर नेताका रूपमा परिचित छन्। उनले ‘TNC Unscripted’ मार्फत बहस कार्यक्रम र वृत्तचित्र प्रस्तुत गर्दै आएका छन् भने ‘The Nepali Comment’ मा एसोसिएट क्रिएटिभ हेडको रूपमा सामाजिक-राजनीतिक विषयलाई आकर्षक ढंगले प्रस्तुत गरेका छन्। साथै, उनले हिमालयन भाषाविज्ञान ओलम्पियाड नेपालका संयोजक, प्रोजेक्ट विवेक र Project Stitch जस्ता अभियानका सह-संस्थापक भएर युवामुखी काम गर्दै आएका छन्।

पुरस्कार निर्णायक समितिमा कोका-कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया, WWF नेपालका डा. घनश्याम गुरुङ, गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा, VOITH का अध्यक्ष सुरज वैद्य र युरोपेली सङ्घका चार्ज डी’अफेयर्स थोमस मिलर रहेका थिए।

समारोहमा विभिन्न क्षेत्रका कूटनीतिज्ञ, राजनीतिज्ञ, शिक्षाविद्, उद्यमी, युवा नेता तथा सेलिब्रेटीहरूको उपस्थिति रहेको थियो। यस अवसरमा आयोजक संस्थाले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने विभिन्न रणनीतिक, शैक्षिक, बैंकिङ, मिडिया, पर्यटन र आतिथ्य साझेदारहरूलाई धन्यवाद व्यक्त गरेको थियो।

👉 ‘गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५’ को उपाधि हात पार्दै कृष यादवले युवाहरूलाई सिर्जनशीलता, अनुसन्धान र संवादमार्फत समाज परिवर्तनतर्फ अघि बढ्न प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।