काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा (नेपाल र तिब्बत) बाट सफल आरोहण गरी विश्वकिर्तिमान राख्न सफल आरोही कल्पना महर्जनको अगुवाईमा राजधानीमा ‘तिज अन द वाल’ सम्पन्न भएको छ।

नेपाली हिन्दू महिलाहरुको महान पर्व तिजको अवसर पारेर हरेक वर्ष आयोजना हुँदै आएको यो कार्यक्रम यसपटक पनि “संस्कृति र साहस सँगसँगै” भन्ने नारासहित धुम्वाराहीस्थित पासाङ ल्हामु स्पोर्ट्स क्लाइम्बिङ भित्तामा सम्पन्न गरिएको हो।

कार्यक्रममा नेपाली सेनाका महिला जवानहरुले समेत सहभागिता जनाएका थिए भने टु पाड.ग्रे क्विन का सदस्यहरुले पनि सहभागिता जनाएका थिए। आयोजक संस्थाले साहसिक खेल स्पोर्ट क्लाइम्बिङको प्रवर्द्धन गर्ने उद्देश्य सहित विभिन्न पेशा र क्षेत्रका महिलाहरुलाई सहभागी गराउँदै आएको जनाएको छ।

महर्जनले सहभागी महिलाहरुलाई स्पोर्ट क्लाइम्बिङ अभ्यास गराउँदै तिजलाई फरक ढंगले मनाउने सन्देश दिएको बताइन्। उनले भनिन्, “जस्तै पार्वती माताले भगवान शिवलाई पाउन कठोर तपस्या गरेकी थिइन्, त्यस्तै हरेक लक्ष्य हासिल गर्न संघर्ष आवश्यक हुन्छ भन्ने सन्देश कार्यक्रममार्फत दिन खोजिएको हो।”

माउण्टेन एडभेन्चर सपोर्ट एकेडेमी, स्पोर्ट्स क्लाइम्बिङ उपत्यका विशेष कमिटी र स्पोर्ट्स क्लाइम्बिङ बागमती प्रदेश को सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो।