काठमाडौं, भदौ —
आज नेपालभर बुवाको मुख हेर्ने दिन मनाइँदैछ। भाद्र कृष्ण औँसीका दिन मनाइने यस पर्वलाई कुशे औँसी पनि भनिन्छ। हिन्दु परम्परा अनुसार छोराछोरीले बाबुलाई फलफूल, मिठाई र कपडा अर्पण गरेर आशीर्वाद लिने चलन छ।

यस दिनलाई पितृ तर्पणको आरम्भ गर्ने विशेष दिनको रूपमा पनि मानिन्छ। जीवित बुवालाई स्नेह र श्रद्धा व्यक्त गरिने यो दिन दिवंगत पिताको सम्झनामा गोकर्णेश्वर, विष्णुमती, बागमती लगायतका पवित्र नदीघाटमा पुगेर तर्पण गर्ने प्रथा छ।

धार्मिक ग्रन्थअनुसार, पितृ ऋण तिर्ने अवसरका रूपमा यस दिनको विशेष महत्व छ। बुवाको मुख हेर्ने दिनलाई पिताप्रति कृतज्ञता प्रकट गर्ने पर्व मानिन्छ।

धार्मिकविद्हरूका अनुसार बुबा सन्तानको जीवनका पहिलो गुरु र आधारस्तम्भ हुन्। त्यसैले यो दिनले बुवाको योगदानलाई सम्झाउने मात्र नभई परिवारको एकता र संस्कारलाई पनि सुदृढ पार्ने सन्देश दिन्छ।