अखिल क्रान्तिकारीमा जनार्दन थाले गुटबन्दी, दिए रात्रीभोज

काठमाडौं । प्रेस सेन्टरको केन्द्रीय समिति बैठकमा मंगलबार उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले अखिल क्रान्तिकारीको चुनावमा पार्टी भित्रका गुटहरु सतहमा आएको चर्चा गरेका थिए । उनको संकेत हेडक्वाटरले तयार पारेको प्यानल विरुद्ध समानान्तर प्यानल तथा उम्मेदवारहरु खडा गरेर चुनाव लड्नुतर्फ थियो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन सकिएलगत्तै पार्टी उपमहासचिव जनार्दन शर्माले गुटबन्दी थालेका छन् । सम्मेलनबाट निर्वाचित आफ्नो पक्षका पदाधिकारी र केन्द्रीय नेताहरुको छुट्टै भेला गरेर उनले रात्रीभोज दिए । अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका क्रममा अध्यक्ष प्रचण्डका विरुद्ध आफ्नो छुट्टै समानान्तर प्यानल बनाएर चुनावी मैदानमा होमिएका शर्माले राम्रो परिणामसमेत ल्याए । आफ्नो प्यानलका धेरैजसो निर्वाचित भएपछि उनीहरुलाई शुक्रबार साँझ कलंकीको मेगा ब्यांक्वेटमा रात्रीभोज दिईएको थियो । भेलामा शर्मा प्यानलबाट अध्यक्षको उम्मेदवार रहेका नेता हेमन्त राईदेखि उमेरहद लागेर बिदा भएका शर्मा पक्षका पुराना नेतासहित करिव ५५ जना नवनिर्वाचित पदाधिकारी थिए । भेलामा शर्माले हेडक्वाटर आफैं भएको दावी गरेको एक सहभागिले बताए । चुनावका क्रममा भने अध्यक्ष प्रचण्ड नजिककाहरुले हेडक्वाटर प्यानल भन्दै देशभर चिट बाँडेका थिए । त्यसको खण्डन गर्दै शर्माले अखिल क्रान्तिकारीको हेडक्वाटर अब आफैं भएको दावी गरेका हुन् । क्रान्तिकारीमा अध्यक्षबाहेक ३३ पदाधिकारीमध्ये २२ जना शर्मा प्यानलका विजयी भएका थिए । अध्यक्षमा भने हेडक्वाटर प्यानलबाट विजयप्रकाश शर्मा सापकोटाले राईलाई ७३ मतले पछि पारेका थिए । शर्मा पक्षका उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ७, सचिव ७ र कोषाध्यक्ष १ जना छन्। सो भेलामा केन्द्रीय सदस्य सुदन किराँती पनि सहभागी थिए। शर्मा पक्षीय भनिएपनि यसअघि उनी खुलेर गुटबन्दीमा लागेका थिए । छद्यम जस्तो भएर उनी अध्यक्ष प्रचण्ड र वर्षमान पुनकोमा पनि समन्वय गर्न पुग्दथे । तर यसपाली भने उनी शर्माको भेलामा नै उपश्थित भए । सो भेलामा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा, केन्द्रीय सदस्य पदम जोशी, सन्तोष बिस्टलगायत उपस्थित थिए। अध्यक्ष प्रचण्डले अनेरास्ववियू क्रान्तिकारीको नवनिर्वाचित कार्यसमितिलाई बिहीबार खुमलटार बोलाएर छलफल गरे लगत्तै उपमहासचिव शर्माले त्यसको प्रतिउत्तर दिए। अध्यक्ष प्रचण्डले बधाई तथा शुभकामना दिने क्रममा जो जो जताबाट जसरी जिते पनि अब सबै पार्टीको हुने र पार्टी मूल नेतृत्वसँगै केन्द्रीत हुने बताएका थिए । सबैलाई पार्टीले समान व्यवहार गने भन्दै प्रचण्डले अब स्ववियू चुनावसहित पार्टी बनाउन नवनिर्वाचित नेताहरुलाई निर्देशन दिएका थिए । उनले शर्मा प्यानलबाट निर्वाचित महासचिव रोशन थापामगरसँग छुटेटैसमेत भेटेका थिए । यसअघि शर्माले नै अध्यक्ष बनाएका पञ्चा सिंह लगायतले उनको गुट छोडेर अध्यक्ष प्रचण्डसँगै हेडक्वाटरमा केन्द्रीत भएपछि पनि शर्माले यसपटक विद्यार्थीमा पकड बढाउन सुरुदेखिनै प्रयास गरेको हुनसक्ने अर्का एक सहभागिले बताए ।

