अखिल क्रान्तिकारीकाे नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन, कसले मार्ला बाजि ?

अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन शनिबार बिहान ८ देखि बेलुका ६ बजेसम्म हुनेछ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माका अनुसार सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट प्रतिनिधिले मतदान गर्नेछन्।
उपत्यका विशेष प्रदेशको विश्वभाषा क्याम्पस र बागमती प्रदेशको वाल्मीकि क्याम्पसमा हुनेछ। अरू प्रदेशको सम्बन्धित प्रदेशबाटै मतदान गर्ने व्यवस्था गरिएको छ।
अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षका लागि मनोननयन दर्ता गरेका ६ जनामध्ये २ जनाले उम्मेदवारी फिर्ता गरेका छन्।
अब उपदेश यादव, सुदिन पौडेल, विजयप्रकाश सापकोटा र हेमन्त राईबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुनेछ।
यसअघि योगेन्द्र बुढा र विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिएका थिए। उनीहरू दुवैले सापकोटालाई समर्थन गर्ने भनेका थिए।
महासचिवमा उम्मेदवारी दिएका १० जनामध्ये २ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। खड्काले महासचिवबाट फिर्ता लिएर उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। त्यस्तै महासचिवमा मनोनयन दर्ता गराएका गोविन्द बानियाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका थिए।
अब महासचिवमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामकुमार मिजार, सञ्जयकुमार महतो र सञ्जिव फुयाँल छन्।
दुई हजार ३९८ जना प्रतिनिधिले ३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
क्रान्तिकारीले गत पुस १४ मा मतदान गराएर ३२ वर्षे उमेर हद लगाउनुपर्ने निर्णय गरेको थियो । केन्द्रीय समितिमा ३२ वर्ष उमेरमुनिका विद्यार्थीबीच प्रतिस्पर्धा हुँदै छ ।
नयाँ नेतृत्वका लागि पार्टीका नेताहरूले आफूनिकट विद्यार्थी नेतालाई अघि सारेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माैन बसेका छन् ।
अखिल क्रान्तिकारीमा पुस दोस्रो साता उमेर हद लगाउने/नलगाउने विषयमा प्रत्यक्ष निर्वाचन भएको थियो । करिब दुई हजार चार सय मतदाता रहेकामा १ हजार ७ सय ८९ मत खसेको थियो । मत परिणाम अनुसार उमेर हद लगाउनुपर्ने पक्षमा ९ सय र नलगाउने पक्षमा ८ सय ७९ मत खसेको थियो ।
उमेरहद लागू भएपछि अध्यक्षको दावी गर्दै आएका दीपेश पुन, मदन भुल, इन्द्र भुसाल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, क्षितिज सापकोटा, जीपी मैनालीलगायतको ठूलो पङ्क्ति माओवादीको विद्यार्थी राजनीतिबाट एकसाथ बाहिरिए ।

