भृकुटीमण्डपमा यस वर्षको नाडा अटो शो सुरु, अस्थिर नीतिले मारमा परेको नाडा अध्यक्षको गुनासो
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा ६ दिन चल्ने सवारी साधानहरुको १६ औं संस्करणको कुम्भमेलाको मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका हुन् ।
शुभारम्भ कार्यक्रममा स्वागत मन्तव्य राख्दै नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो अटो व्यवसायीहरुको दशैं भएको बताए । उनले अटो सो गाडी बिक्रीका लागि मात्र नभई समग्र मोबिलिटीका लागि पनि हुने गरेको बताए। अध्यक्ष चौधरीले १ खर्ब लगानी गरेका अटो व्यवसायी सरकारको अस्थिर नीतिले मारमा परेको गुनासो गरे। उनले नेपालको अटो मोबाइल व्यवसाय ट्रेडिङबाट सुरु भएर उद्योगका रूपमा विकास भइरहेको बताए।
शोमा सहभागी मध्ये एक जनाले हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन्, जसलाई सिजी मोटर्स प्रालिले प्रायोजन गरेको छ ।
नाडा अटो शो २०२४ समितिका कार्यवाहक संयोजक अनुपकुमार बरालका अनुसार नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीलाई, नाडा अटो शोले उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनीलाई चार पाङ्ग्रे, दुई पाङ्ग्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ।
प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन् । साथै, ३३ कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शन गर्ने छन् । त्यस्तै ७ वित्तीय संस्थाहरूले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुने नाडाले जनाएको छ । जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्।
नाडा अटो शो अगस्ट २७ (आज) देखि सेप्टेम्बर १ सम्मआयोजना हुनेछ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ६ दिनको अवधिमा ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको जनाएको छ । शो मा १५ देखि २० अर्ब रुपैयाँसम्मको कारोबार हुने आयोजकको अपेक्षा छ ।