काठमाडौं । नेपालमा थ्रिलर तथा हरर फिल्म निकै कम बन्ने गर्छन । यसै क्रममा हरर जनराको नयाँ चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ तयार भएको छ । यो चलचित्र पुष २२ बाट सिनेमा हलमा रिलिज गर्ने निर्माण पक्षले जनाएको छ ।

बुधबार काठमाडौंमा एक समारोहबीच यो चलचित्रको ट्रेलर रिलिज गरिएको छ । २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरमा भुत प्रेतले निम्त्याएका विभिन्न कथाहरु प्रस्तुत गरिएको छ । अदृश्य शक्तिसंग बच्न पात्रहरुले गर्नु परेको संघर्षको कथा ट्रेलरले देखाएको छ । एक बालिकाको आत्माले धेरै पात्रलाई दुख दिएको र त्यो आत्मा बिरुद्ध उनीहरुले सँघर्ष गर्नु परेको पनि ट्रेलरले जनाएको छ ।

चलचित्रमा ऋचा शर्मा, प्रियंका कार्की, बेनिशा हमाल, आयुषमान देशराज जोशी, रविन्द्र झा, राजन खतिवडा, गौरव विष्ट, अरुण चक्रवर्तीलगायतका कलाकारहरुको अभिनय छ ।

एमी स्टुडियोको व्यानरमा यो चलचित्रलाई अरुण चक्रवर्ती र रिञ्जु केसीले निर्माण गरेका हुन् । नेपालमा हरर सिनेमाको जनरालाई स्थापित गर्न आफ्नो फिल्म कोसेढुँगा बन्ने अरुणको दाबी छ ।

यो चलचित्रलाई सिनेकर्मी दम्पत्ति मिर्ना जेम्स र यश सैनीले निर्देशन गरेका हुन् । उनीहरु आफ्नो फिल्मबाट दर्शकलाई डराउन सफल भएको ट्रेलरबाट बुझिन्छ ।

मिर्ना र यश कै कथा-पटकथा रहेको सिनेमा पुष २२ देखि नेपालका सिनेमा हलमा रिलिज हुने निर्माण पक्षले जनाएको छ । सिनेमामा सुशन प्रजापतिको छायांकन र यश सैनीको सम्पादन रहेको छ ।