राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिलको कारोबार गरेको अभियोगमा दुई फर्म र त्यसका संचालक विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले काठमाडौंको कुलेश्वरमा रहेको अंकुश सप्लायर्स एण्ड ट्रेडर्स प्रालि र बाराको भवानीपुर नगरपालिका–८ मा रहेको युनिक ट्रेडर्स प्रालि तथा त्यसका संचालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागले अंकुश सप्लायर्सका संचालक प्रविण कुमार महतो तथा युनिडक ट्रेडर्सका संचालक आत्मराम पासवान विरुद्ध २२ करोड ६३ लाख रुपैयाँभन्दा बढीको विगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

विभागले दिएको जानकारी अनुसार अंकुश र युनिक ट्रेडर्सले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली तथा झुटा भ्याट विल खरिद गरी वित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी भ्याट ऐन तथा आयकर ऐन अनुसार तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेका छन् ।

विभागले यी दुबै फर्म तथा त्यसका संचालकहरुलाई ५ करोड ४१ लाख ५९ हजार रुपैयाँ भ्याट र १७ करोड २२ लाख २१ हजार रुपैयाँ आयकर गरी जम्मा हुन आउने २२ करोड ६३ लाख ८१ हजार रुपैयाँ असुल गरी शतप्रतिशत जरिवाना तथा हदैसम्मको कैद र व्याज समेत असुल गर्नुपर्ने माग गरेका छन् ।