काठमाडौं । मंसिरको पहिलो साताबाट विश्वकप फुटबल हुँदैछ । यही कारण थुप्रै चलचित्रहरुको प्रदर्शनी रोकिएको छ । तर विश्वकपकै बीच चलचित्र ‘पासो’ रिलिज हुने भएको छ । त्यो बेला दर्शकलाई फिल्म नहुने भएकाले आफुले यो चलचित्र रिलिज गर्न लागेको निर्माण पक्षले जनाएको छ ।

बी.आर इन्टरटेन्मेन्ट प्रा.लीको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई १६ मंसिरबाट देशभर रिलिज गरिने भएको छ । यो चलचित्रलाई आर.बी पुनले निर्देशन गरेका हुन् । यो चलचित्रलाई पुनले नै लेखेका हुन् ।

जसमा रिस्ता बस्नेत, सुनिशा बजगाँई, रामकुमार बास्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाशलगायतको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई भगवान भुजेलले निर्माण गरेका हुन् । चलचित्रको सह निर्मातामा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङलगायत छन् ।

प्रदर्शन मिति घोषणासँगै चलचित्र ‘पासो’को फस्ट लुक्स बुधबार घोषणा गरिएको छ । थ्रिलर जनरामा निर्माण भएको यो चलचित्रले दुई अत्यन्त मिल्ने साथीलाई एक अज्ञात अपराधिक समुहले अपहरण गरेपछि उनीहरुले बाँच्नका लागि गरेको संघर्षको कथामा आधारित रहेको निर्देशक पुनले बताएका छन् ।

रिच इन्टरटेन्मेन्टले यो चलचित्रलाई काठमाडौंमा र एफडी कम्पनीले काठमाडौं बाहिर वितरण गर्नेछ । यो चलचित्रको १५ प्रतिशत रकम धादिङमा निर्माण हुन गइरहेको ‘जीवन विज्ञान’ धाम निर्माणार्थ प्रदान गरिने जानकारी समेत यसका निर्माता भगवान भुजेलले गराएका छन् ।