बनिन आयुश्री लिटल आइडल

काठमाडौं । एक दशकदेखि आयोजना हुँदै आएको बालिकाको प्रतियोगिता लिटिल आइडल २०२२ को उपाधि युरो स्कुल हात्तीगौंडामा कक्षा आठमा अध्ययनरत आयुश्री घिमिरेले प्राप्त गरेकी छन् । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितामा आयुसीले शीर्ष उपाधिसहित ३० हजार रुपैयाँ र ब्याब्सन काठमाडौंका तर्फबाट एक वर्षको छात्रावृत्ति हासिल गरेकी छन् ।
जमलस्थित सांस्कृतिक संस्थानमा भएको प्रतियोगितामा विजेतालाई बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बधाई ज्ञापन गर्दै यस्ता प्रतियोगिताले बालबालिकाको व्यक्ति विकाशमा टेवा पुग्ने बताए, ‘सहभागी छात्राको प्रस्तुति असाध्यै राम्रो लाग्यो । छात्राको अत्तिरिक्त क्षमता उजागर गर्न प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको प्रयास सराहनीय छ ।’
सो प्रतियोगितामा बाग्मती बोर्डिङ हाइस्कुल सुकेधाराकी प्रश्मीरत्न फस्ट रनरअप हुँदै २० हजार जित्न सफल भइन् । यस्तै, नेसनल ब्लुमिङ फ्लावर एकेडेमी बूढानीलकण्डकी बिहानी गुरुङ मिस लिडरसिपसहित सेकेन्ड रनरअप घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गर्न सफल भइन् । दुवै जनाले एक–एक वर्षको छात्रवृत्ति प्राप्त गरेका छन् ।
प्रतियोगितामा जनही १० हजार रुपैयाँ पुरस्कारसहित नेपाल सेन्ट्रल हाइस्कुल नरेफाँटकी सगुन महर्जनले मिस ट्यालेन्ट, इलिक्जर एकेडेमी कुमारीगलकी सम्पदा महतोले मिस कन्फिडेन्ट, ग्रामर पब्लिक स्कुल काटेश्वरकी सिर्जा साहले मिस डाइनामिसको उपाधि हासिल गरे । मेरिडियन इन्टरनेसनल स्कुल बालुवाटारकी आस्का भण्डारीले मिस पर्सनालिटी, क्याम्ब्रिज पब्लिक हाइस्कुल पुरानो बानेश्वरकी अभिलाशा श्रेष्ठले मिस फोटोजेनिक, इडेन ब्रिज एकेडेमी धापासीकी करुना थुलुङ राईले मिस फ्रेन्डसिप र केएमसी स्कुल बुद्धनगरकी प्रिन्सु शर्माले मिस इन्ट-याक्टिभ उपाधिसहित जनही १० हजार रुपैयाँ प्राप्त गरे ।
राजधानीका विभिन्न विद्यालयबाट आएका ६५ जना प्रतियोगी यो प्रतियोगितामा सहभागी थिए । प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राईको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय प्याब्सन एवं प्याब्सन काठमाडौंका पदाधिकारीले विजेता एवं सहभागीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा प्राज्ञ प्रदीप बोमजन, डीआईजी भीम ढकाल, अन्नपूर्ण पोस्टका सम्पादक अखण्ड भण्डारी, मिस कस्मोपोलिटन वल्र्ड २०१९ प्रियारानी लामा, अभिनेत्री उषा रजक, मिस मंगोल नेपाल २०२१ एप्रिला घिसिङ र नेपाल एड्मिनिस्ट्रेटिभ स्टाफ कलेजका डेपुटी डारेक्टर शिव अधिकारी निर्णायक थिए । बालिकाको व्यक्तित्व विकाशका लागि आपूmहरूले यो प्रतियोगिता आयोजना गर्दै आएको आयोजक संस्थाका अध्यक्ष अशोक प्यासी राईले कार्यक्रममा बताए ।

