काठमाडौं– अस्पताल बाहिरपट्टि कुरिरहेका आफन्त तनावमा हुन्छन्– बिरामीको अवस्था गम्भीर छ? निको हुने हो होइन? यस्तै कुरा मनमा खेलिरहेको हुन्छ। मृत्यु कसले रोज्ला र! तर पनि पुकारा हुन्छ– मृत्युचाहिँ तत्काल नहोस्!

भइहालेमा पनि कोरोना नेगेटिभ भएपछि मात्र होस्। नेगेटिभ भए लास देख्न पाइन्थ्यो! आफन्त वरिपरि बसेर श्रद्धाञ्जलि दिन पाइन्थ्यो! मलामी त जान पाइन्थ्यो! आफ्नो संस्कारअनुसार अन्त्येष्टि कर्म गरिन्थ्यो! बाहिर यस्तो विलाप गर्दागर्दै चिकित्सकको प्रयास निरर्थक बन्छ।

कतिपय संक्रमितको ज्यान बितिजान्छ। अनि कुरुवा र आफन्तको कोलाहल सुरु हुन्छ अस्पतालमा। प्रिय व्यक्तिको शव न छुन न हेर्न पाइन्छ! वार्ड वा आईसीयूबाट शव सीधै शवगृहमा लगिन्छ। ठूलो चीत्कार सुनिन्छ आफन्तको। अन्त्येष्टिमा लैजाँदा आफन्त मलामी जान पाउँदैनन्।

गइहाले पनि पर बसेर अछूत जसरी हेर्न विवश हुन्छन् सन्तान! आफन्त वियोग छँदै छ, अन्तिम संस्कारमा सहभागी हुन नपाउँदा मन भारी हुन्छ। त्यसै बेला भरोसा बनेर आइपुग्छ नेपाली सेना, सन्तानजस्तै। शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले लिन्छ।

शवगृहको अँध्यारो कोठाबाट निकाल्न सैन्य जवान खटिन्छन्। पीपीईले शरीर ढाकेका जवानले निंसक्रमण गर्दै शव गाडीमा हाल्छन्। अनि उनीहरुले नै अन्त्येष्टिस्थलतर्फ पुर्‍याउँछन्। घाटमा शव झार्छन्। अन्तिम सम्मानस्वरुप सलामी अर्पण गर्छन्।

दागबत्ती दिन्छन्। शव पूरै नजलेसम्म निगरानी गर्छन्। आफन्तलाई अन्तिम चिनो अस्तु दिएपछि सेनाको जिम्मेवारी सकिन्छ। मलामी जानेदेखि सलामी दिनेसम्मको काम सेनाबाट हुँदै आएको छ कोरोनाबाट निधन भएकाहरुको। त्यसैले महामारीमा मर्दाको मलामी बनेको छ नेपाली सेना।

सरकारले संक्रमितको शव व्यवस्थापनको जिम्मेवारी गत वर्ष नै सेनालाई दिएको हो। शव व्यवस्थापनका लागि देशैभर युनिट खटिएको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोषवल्लभ पौडेल बताउँछन्। त्यसो त नेपाली सेनाले कोरोना भाइरसको पहिलो चरणदेखि नै विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएको छ।