बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण यही ८ देखि १२ असोजसम्म नेपालमा भारी वर्षा हुने मौसमविद्हरूले चेतावनी दिएका छन्। यस प्रणालीले देशका धेरै स्थानमा अत्यधिक वर्षा गराउन सक्ने भएकाले पूर्वतयारी र उच्च सतर्कता अपनाउन उनीहरूले आग्रह गरे।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार विभिन्न मोडेलहरूले उक्त अवधिमा ४०० देखि ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने देखाएका छन्। यो वर्षा देशभर समान नभई निश्चित क्षेत्रमा बढी केन्द्रित हुने र भारतबाट आउने सुक्खा हावाले यसको गति प्रभावित पार्ने उनले बताए।

मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि असोज ८ देखि ११ गतेसम्मको अवस्था गम्भीर रहेको र असोज १० गते सबैभन्दा ठूलो जोखिम हुनसक्ने बताए। जोखिमलाई ध्यानमा राख्दै उनले असोज ८, ९ र १० गते सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्न सुझाव दिए।

जल तथा मौसम विज्ञान विभागले भने यो मौसमी प्रणालीलाई नजिकबाट नियालिरहेको र प्रभाव स्पष्ट भएपछि औपचारिक विज्ञप्ति जारी गर्ने जनाएको छ। वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यस्ता प्रणालीको दिशा र तीव्रता परिवर्तन हुन सक्ने भएकाले अहिले नै अन्तिम निष्कर्ष निकाल्न हतार हुन्छ।

यदि पूर्वानुमानअनुसार भीषण वर्षा भएमा पाकिसकेको धानबालीमा ठूलो क्षति पुग्न सक्ने भएकाले किसानहरूलाई विशेष सतर्क रहन मौसमविद्हरूले अह्राए। उत्तर थाइल्यान्ड र म्यानमार क्षेत्रमा बनेको यो प्रणाली बंगालको खाडी हुँदै अघि बढिरहेको भारतीय मौसम विभागले जनाएको छ।

यो प्रणाली चक्रवातमा परिणत भएमा सन् २०२६ को उत्तर हिन्द महासागर क्षेत्रको पहिलो उष्णकटिबन्धीय चक्रवात बन्नेछ। बंगलादेशले प्रस्ताव गरेअनुसार यस चक्रवातको नाम ‘अर्नब’ राखिनेछ।