कृषिबाटै तेह्र करोडको सम्पत्ति कमाएका अर्घाखाँचीका बजान्डे

अर्घाखाँची । अर्घाखाँचीका एक कृषक पुष्करनाथ बजान्डेले कृषि पेसाबाटै झन्डै १३ करोड रुपैयाँ बराबरको सम्पत्ति आर्जन गर्न सफल भएका छन् । सन्धिखर्क नगरपालिका–८ का ५८ वर्षीय बजान्डे करिब तीन दशकदेखि व्यावसायिक खेतीमा संलग्न छन् ।
२०७२ सालतिर केही समय शिक्षा क्षेत्रमा बिताए पनि वास्तविक आम्दानी कृषि क्षेत्रमा नै हुने बुझेर उनले पूर्ण रूपमा कृषिलाई पेशा बनाएका हुन् । हाल उनका काठमाडौँमा एक घर, बुटवल, काठमाडौँ र सन्धिखर्कमा आधा दर्जन घडेरी तथा कृषिबाटै संकलित अन्य सम्पत्ति रहेको छ ।
बजान्डे भन्छन्, “कृषिले नै छोरालाई चार्टर्ड एकाउन्टेन्ट बनाउन पाएँ, श्रीमतीलाई ४४ तोला सुन जोडिदिन सकेँ ।”
उनले २५ रोपनी पाखोबारी र पाँच रोपनी खेतलाई आधुनिक तरकारी तथा कफी फर्ममा विकास गरेका छन् । सिमी हाइटेक टनेल, स्थायी टनेल र आधुनिक सिँचाइ प्रणालीमार्फत काउली, बन्दा, टमाटर, घिरौंला, काँक्रोललगायत मौसमी–बेमौसमी तरकारी उत्पादन हुन्छ । हाल फर्ममा १०–१२ जना स्थायीरूपमा रोजगारीमा छन् ।
तरकारीसँगै कफी उत्पादन र प्रशोधनमा पनि उनी उत्तिकै सक्रिय छन् । रोस्टर, हेलर, ग्राइन्डर, प्याकेजिङदेखि ल्याब–टेस्टका संरचना दर्ता गरी उनले व्यवस्थित रूपमा कफी व्यवसाय सञ्चालन गर्दै आएका छन् । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासहित सरकारी निकायको सहयोगमा पोखरी र पक्की ट्याङ्की निर्माण गरी वर्षैभरि सिँचाइको प्रबन्ध मिलाइएको छ ।
बजान्डेको उत्पादन हुने कफी अमेरिका, जापान, कोरिया र अस्ट्रेलिया निर्यात हुने गरेको छ । विदेशी व्यापारीले सिधै सम्पर्क गर्ने भएकाले कफीबाट पर्याप्त आम्दानी भइरहेको उनको भनाइ छ । तर ठूलो परिमाणमा निर्यात गर्न भने चुनौती रहेको उनले बताए ।
सन्धिखर्क बजारबाट करिब चार किलोमिटर पश्चिम रहेको उनको फर्ममा तरकारी फर्म, फलफूल बगैँचा, कफी खेती, भैँसी तथा गाईपालन गरी दुध उत्पादनसमेत भइरहेको छ । यिनै गतिविधिबाट वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी भइरहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
कृषि शाखा प्रमुख रामबहादुर थापाका अनुसार, “बजान्डे कफी तथा तरकारी उत्पादनमा जिल्लाका अग्रणी उद्यमी हुन् । उहाँबाट किसानले सिक्न सके कृषि क्षेत्रमा ठुलो परिवर्तन ल्याउन सकिन्छ ।”
नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ भन्छन्, “उहाँ सफल मात्र होइन, उदाहरणीय कृषक हुनुहुन्छ । उहाँको सीपलाई समूहगत रूपमा किसानमा प्रसार गर्ने योजना छ ।”
परिश्रम, सीप र प्राविधिक ज्ञानको संयोजनले पुष्करनाथ बजान्डे आज अर्घाखाँचीका सफलतम कृषकका रूपमा स्थापित भएका छन् । उनी प्रमाणित उदाहरण हुन्—कृषि पेसाबाट पनि करोडौँ कमाउन सकिन्छ ।

