सय बढी स्टार्टअपको सहभागितामा भोलिदेखि दुई दिनसम्म ‘यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट’ हुँदै, निशुल्क अवलोकनको व्यवस्था

सातै प्रदेशको कार्यक्रम पश्चात लिभिङ विथ आइसिटीको आयोजनामा काठमाडौैं स्थित बानेश्वर बैकुटमा यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम हुदैछ । उक्त कार्यक्रममा सातै प्रदेशबाट छनौट भएकासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ फाइनलिस्टहरुको सहभागिता रहनेछ । यसका अतिरिक्त विभिन्न कलेजका विद्यार्थीले विकास गरेका इन्नोभेसन र रकेट साइन्स क्याम्प पनि आयोजना हुदैछ ।
२ दिनसम्म चल्ने फेस्टमा १०० बढी स्टार्टअप र इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राख्ने छन् । स्टार्टअप एण्ड आईडिया फेस्टमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
स्टार्टअप इकोसिस्टम प्रवर्द्धन गर्न सातै प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट सफलतापूर्वक सम्पन्न गरेपछि काठमाडौंमा पनि आयोजना गर्न लागेको कार्यक्रमका संयोजक राजन लम्सालले बताए । यस कार्यक्रमले स्टर्टाअप र इन्नोभेसनमा लगानी गर्दै प्राथमिकतामा राखेर काम गर्न सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउने आयोजकको अपेक्षा छ ।
फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई÷भीआर लगायतका गतिविधि हुने आयोजकले जानकारी दिएको छ । स्टिम क्याम्पका लागि द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्य गरेका छन् । २ दिनसम्म सञ्चालन हुने फेस्ट १० हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
सन् २०१६ बाट सुरू भएको आइसिटी अवार्डको सातौं संस्करणमा १२ विधामा अवार्ड वितरण गरिदै छ । यस वर्ष अवार्डमा ४०० बढीको आवेदन प्राप्त भएको थियो ।१३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले अवार्डको छनोटको काम गरिरहेको छ ।
बुधबार मात्रै आइसिटी अवार्डका स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधाका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई मेन्टरिङ तथा ओरियन्टेसन सेसन सम्पन्न गरिएको थियो । त्यस्तै सातै प्रदेशमा आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्टबाट छनोट भएका ४० बढी उत्कृष्ट स्टार्टअप तथा आईडियाहरूका लागि समेत मंगलबारदेखि बिहीबारसम्म ३ दिने बुटक्याम्प सञ्चालन भइरहेको छ । आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ८ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ ।
यस कार्यक्रममा इन्फोडेभलपर्स, नेपाल टेलिकम, जेनेसिस, ह्वावे, स्मार्ट क्युआर, दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, आइएमइपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्ुज मेसिन्स लगायतको सहयोग रहेको छ । यसैगरी यस कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरण, एनआइटिसी, नाष्ट, एफएनसिसिआई लगायतको पनि सहयोग तथा सहकार्य रहेको छ ।

