काठमाडौं । संगीतकारको रुपमा चर्चा कमाएका अर्जुन पोखरेल गायकको रुपमा प्रस्तुत भएका छन्। उनले गायिका अमृता लामिछानेसँग आफ्नै संगीतमा नयाँ गीत पाटको नेती काठैको मदानी…गीत गाएका हुन् ।

दशैंको अबसर पारेर यो गीतको भिडियो रिलिज गरिएको छ । काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो । दि डिभाइन म्युजिक र नेप्सिनेको सहकार्यमा बनेको म्युजिक भिडियोलाई अमृताको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

दिनेशराज पुरीको शब्द रचना रहेको यस गीतको भिडियो विधान कार्कीले निर्देशन गरेका हुन्। भिडियोमा कलाकारहरु चक्र बम, उषा उप्रेती, सुधिर श्रेष्ठ र बिना राउतले अभिनय गरेका छन् । जसमा हरि हुमागाईंको छायांकन, बिकास दाहालको सम्पादन रहेको छ ।

भिडियो रिलिज कार्यक्रममा बोल्दै भिडियो निर्देशक कार्कीले दशैँको शुभकामना स्वरुप यो गीत सार्वजनिक गरेको बताए । यस पटकको विजया दशमी ’पाटको नेती काठैको मदानी’ गीतले उल्लासमय बनाउने बिश्वास उनले लिए । संगीतकार तथा गायक अर्जुन पोखरेलले दर्शकको चाहना अनुसार आफुले गायन पनि सुरु गरेको बताए । यस अघि उनले एउटा चलचित्रमा गीत गाएका थिए ।