काठमाडौं । कला फाँटमा ‘जुंगे भट्टराई’बाट परिचय बनाएका कलाकार उद्धव भट्टराईको निधन भएको छ ।

भेषभूषा संयोजन, कला निर्देशन तथा अभिनय गर्दै आएका भट्टराईको ६६ वर्षको उमेरमा दम रोगका कारण निधन भएको हो ।
बिरामीपछि बैतडी घर बस्दै आएका उनलाई उपचारका लागि काठमाडौं ल्याउने क्रममा गाडीमै चितवन पुगेपछि शनिबार बिहान निधन भएको छ ।

लामो जुंगाका कारण उनी ‘जुंगे भट्टराई’ उपनामबाट चर्चित उनको शनिबार दिउँसो काठमाडौं पाशुपती क्षेत्रस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

लामो समयदेखि दम रोगपीडित उनको आर्थिक अभावका कारण राम्रो उपचार हुन सकेको थिएन । २०४५ सालमा ‘सन्तान’बाट कलाकार र कस्टुम डिजाइनरका रूपमा ‘करिअर’ थालेका उनको पछिल्लो समय ‘मेरी मामु’मा कला निर्देशकका रूपमा काम गरेपछि स्वास्थ्यमा समस्या आएको थियो ।