शौचालय जाने बाहानामा आइसोलेसनबाट संक्रमित भागे, क्वारेन्टाइनमा सर्पले टोक्यो

आइसोलेसनबाट संक्रमित भागेको खबर मंगलबार बिहान ४ बजेतिर पाउने बित्तिकै उनको घरसम्म पुगेर खोजी गर्दा नभेटेको जानकी गाउँपालिका १ का वडाध्यक्ष मोहम्मद रजा राइले बताए। प्रहरीले दिनभर खोजी गर्दा पनि फेला पार्न सकेको छैन। भारतको नानपारा ससुराली भएका ती युवा त्यतैतिर भागेको आशंका गरिएको छ। यसैबीच, जानकी गाउँपालिका –१ बढैयाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका सुन्दरलाल काँदुलाई सर्पले टोकेको छ। वडा नं. १ का वडाध्यक्ष मोहम्मद रजा राइका अनुसार सोमबार राति साढे १० बजेतिर सुतिरहेको बेला उनलाई गोमन सर्पले टोकेको हो।
सयममै एम्बुलेन्स नआएपछि मंगलबार बिहान ८ बजेतिर मात्र उपचारका लागि भेरी अस्पतालमा पठाइएको उनले बताए। सर्पलाई क्वारेन्टाइनमा बसेका अन्य युवाले मारेका थिए। सर्पले टोकेका युवा अस्पतालबाट निको भएर दिउँसो घर फर्किएका जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए। सर्पले टोक्न थालेपछि क्वारेन्टाइन बसेका स्थानीयले घरजान पाउनुपर्ने भन्दै राति विरोध प्रदर्शन गरेका थिए। पीसीआरबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आइसकेकाले सबैलाई मंगलबार नै घर पठाइएको थियो। उनीहरु ९ जेठदेखि क्वारेन्टाइनमा बसेका थिए।

