काठमाडौं, कार्तिक १७ /तरुण दलका नेतासंग खसी माग्ने र धम्की दिने इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमबहादुर शाही छानविनको दायरमा आएका छन् । हतियारसहित तरुण दलका नेतालाई पक्राउ गरेसंगै शाहीको विवादित अडियो बाहिरिएसंग उनी छानविनको दायरमा आएका हुन् ।

शाही विवादमा आएपछि त्यसबारे छावविन गर्न एसएसपी नरबहादुुर केसीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बाँके पुगेको छ । टोलीले शाहीले प्रहरी आचारण विपरित काम गरेको छ कि छैन भनेर हेर्ने जनाइएको छ ।

समितिलाई १० दिन भित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ । डीएसपी शाही विवादमा आएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा प्रहरी नायव महानिरीक्षक (डीआइजी) सुरेशविक्रम शाहले छानविन समिति गठन गरेका हुन् ।