काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँके जिल्ला सभापतिमाथि भएको हातपातको विषयलाई लिएर संसद् अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम बिथोल्ने गरी राज्यसंयन्त्रको निर्देशनमा बाँके घटना गराइएको आरोप लगाए ।

उनले जागरण अभियानलाई गम्भीर प्रहार गर्न योजनाबद्ध ढंगले बाँके घटना गराइएको भन्दै असंवैधानिक र विधिविपरीतका क्रियाकलापको भत्र्सना गरेका थिए ।

खाणले बोलेपछि गृहमन्त्री रामबहादुर थापाले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । गृहमन्त्रीको प्रतिबद्धतापछि पनि कांग्रेस सांसदले बैठकमा अवरोध जारी राखेका थिए । कांग्रेस सांसदरूले बैठकमा उभिएर विरोध जारी राखेकाले सभामुख कृष्णबहादुर महराले ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

नेपाली कांग्रेसले गरेको राष्ट्रिय जागरण सभा भदौ २६ गते बाँकेको खजुरा गाउँपालिका– १ सीतापुरमा सत्तारुढ दलका कार्यकर्ताले बिथोलेको कांग्रेसले आरोप लगाएको छ । सो घटनामा जिल्ला सभापति किरण कोइराला र केन्द्रीय प्रतिनिधिमाथि आक्रमण भएको कांग्रेसले बताएको छ ।