चितवन । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अनलाईनमार्फत खानेपानीको महसुल बुझाउने व्यवस्था मिलाएको छ । खानेपानी संस्थाले दियालो टेक्नोलोजीसँग सहकार्यमा यो सेवा सुरुआत गरेको हो अब घरमै बसेर ग्राहकले खानेपानीको महसुल भुक्तान गर्न सक्नेछन् ।

ग्राहकको समय, लाईन बस्नुपर्ने अवस्थाको अन्त्यका साथै प्रविधिको विकास गर्ने उद्देश्यले अनलाईन सेवा सुरु गरिएको खानेपानी संस्थाका अध्यक्ष भीष्मराज पौडेलले जानकारी दिए ।

दैनिक ५४ लाख लिटर शुद्ध खानेपानी संस्थाबाट खपत हुँदै आएको छ । नगरभित्र प्रत्येक घरधुरीमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउन विपन्न, दलित, सुकुम्बासी , सीमान्तकृत समुदायका लागि खानेपानी धारा जडानमा ५० प्रतिशत छुटको व्यवस्थासमेत रहेको संस्थाका व्यवस्थापक विश्वनाथ पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म ५५ घरधुरीले सो सुविधा पाइसकेका छन् । एउटा धारा जडान गर्न ९ हजार ५ सय रुपैयाँ लाग्छ ।