भारतीय पूर्व सेनाध्यक्षहरु चार जना एकै पटक काठमाडौं आएका छन् । आज बिहान पौने ९ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेका हुन् ।

चारै जना सेनाध्यक्ष नेपाली सेनाको भोलि हुने २६०औं सेना दिवसमा भाग लिन आएका हुन् । आठ जनाको टोली एअर इण्डियाको उडान नम्बर एअई २१३ मा नयाँ दिल्लीबाट काठमाडौं आएको हो । नजिकिदै गरेको रास्ट्रपति चुनावको बीचमा सेनाध्यक्षहरुको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

नेपाली सेनाको आमन्त्रणमा विशेष अतिथिको रुपमा नेपालका मानार्थ सेनापतिसमेत रहेका पूर्व सेनाध्यक्ष विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दिपक कुमार र दलवीर सिंह सुहाग काठमाडौं आएका हुन् ।

उनीहरुलाई सेनाका रथी सिताराम खड्का र उपरथी कृष्णदेव भट्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । ती सबै अतिथि लैनचौरस्थित भारतीय दूतावासभित्रै बस्ने सैनिक स्रोतले बताएको छ ।