पूर्वडीआइजी नवराज सिलवालले आफ्नो कार्यसम्पादन मूल्यांकनसम्बन्धी विवरण अनलाइनबाटै प्राप्त गरेको बताएको हुनाले ती अनलाइनसँग स्रोत मागिएको छलफलका क्रममा प्रहरी अधिकारीहरुले जवाफ दिए । गोप्यरुपमा रहनुपर्ने कार्यसम्पादन मूल्यांकनको सक्कलप्रति नै आफूहरुसँग छ भनेर अनलाइनहरुले लेखेपछि उनीहरुमाथि अनुसन्धान गर्नुपरेको प्रहरी अधिकारीले छलफलमा बताएका थिए । तर प्रहरीले समाचार नै नलेखेको अनलाइन र पत्रिकालाई समेत पत्र काटेको छ ।
पत्रकारसँग प्रत्यक्ष सम्पर्क नगर्न सुझाव
प्रहरी अधिकारीले गरेको जिकिरको जवाफमा प्रेस काउन्सिलका पदाधिकारी एवं नेपाल बारका प्रतिनिधिले कुनै पनि हालतमा पत्रकारसँग समाचारको स्रोत मागेर पत्र काट्न वा उनीहरुलाई हाजिर हुन बोलाउन नमिल्ने सुझाव दिएका छन् ।
‘प्रहरीले यसरी समाचारको स्रोत मागेर पत्र लेख्नु संविधानको धारा १९ विपरीत हुन्छ,’ छलफलपछि कार्यवाहक अध्यक्ष श्रेष्ठले भने, ‘प्रहरीको यस्तो कार्य संविधान र प्रेस कानूनको समेत विपरीत हुने भएकाले हामीले प्रहरीलाई यस्तो कार्य नगर्न भन्यौं ।’
अबदेखि अनलाइन पत्रकारहरुलाई त्यसरी पत्र नकाट्ने र आवश्यक परेमा प्रेस काउन्सिलमार्फत् सम्पर्क गर्ने विषयमा प्रहरी अधिकारीहरु सहमत भएको श्रेष्ठले जानकारी दिए ।


